नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आज बिहानदेखि केन्द्रीय कमिटी बैठक ३ दिनसम्म चल्नेछ ।

बैठकमा पार्टीको सांगठनिक अवस्था, विधान संशोधन, आगामी महाधिवेशन र समसामयिक विषयमा छलफल हुने छ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार सचिवालय बैठकले पार्टीको विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधन प्रस्तावमाथि आएका सुझाव तथा संसोधनहरूसमेत समावेश गरेर केन्द्रीय कमिटीमा पेस हुने छ ।

यसअघि बसेको सचिवालय बैठकमा ७० वर्षे हद हटाउने गरी विधान संशोधन गर्न नेताहरू सहमति भएका थिए ।

यस्तै, एकीकृत समाजवादीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले तयार पारेको प्रस्ताव केन्द्रीय कमिटी, राष्ट्रिय सम्मेलन हुँदै महाधिवेशनमा पेश गर्ने समाजवादीको तयारी छ ।

Back to top button