समाजमा व्याप्त नकारात्मकताले उद्योगी व्यवसायीको मनोबल गिराएको छ : अर्थमन्त्री महत

विराटनगर : नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले समाजमा फैलिएको नकारात्मकताले उद्योगी व्यवसायीको मनोबल गिराएको बताउनु भएको छ । आज विराटनगरमा मोरङ व्यापार संघ एक्सपो-२०२३ को समापनमा बोल्दै अर्थमन्त्री महतले समाज र सामाजिक सञ्जालमा व्याप्त नकारात्मकताले उद्योगी व्यवसायीको मनोबल घटाएकोले प्रयाप्त नयाँ क्षेत्रमा लगानी बढ्न नसकेको बताउनु भएको हो ।

अर्थमन्त्री महतले नेपालको अर्थतन्त्रमा समास्या रहेको र पछिल्लो समयमा अर्थतन्त्रको सूचकमा सकारात्मकता देखिएको दाबी गर्दै समाजले नकारात्मकतामा बढी जोड दिइरहेको कारणले आर्थिक विकासमा समस्या भएकोमा जोड दिनु भएको थियो ।

‘ हामीले मूल्यवृद्धीलाई ५ % मा संकुचन गर्न , १८०० अंकमा झरेको सेयर बजारलाई २२०० मा पुर्याउन , बैङ्कको ब्याज घटाउन , डलर सञ्चिती बढाउन सफल भूमिका खेल्न सक्यौँ’ महतले दाबी गर्नु भयो , ‘ घरजग्गा कारोबारमा बढेको उत्साह र न्यून बैङ्क ब्याजदरले थप आर्थिक विकासमा सहयोग पुर्याउछ ‘ ।

एक्सपो समापन समारोहमा मोरङ व्यापार संघको अध्यक्ष नबिन रिजालले बैङ्कको ब्याजदर एकल अंकमा घटेमा मात्र उद्योगीलाई सहयोग पुग्ने बताउँदै हाल इन्सुरेन्स कम्पनीहरूले देशमा कार्टेलिङ चलाउन खोजेको भन्दै अर्थमन्त्री महतको ध्यानाकर्षण गराउनु भएको थियो ।

संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले खुला सीमा समस्याले ठूलो सङ्ख्यामा नेपाली पैसा सिमावर्ती भारतीय शहरमा जाने गरेको बिषयमा ध्यानाकर्षण गराउँदै विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले आफूलाई राजा सरह ठानेर तिर्नै नपर्ने पैसाको माग गरेर उद्योगमा बिजुली काटिरहेको बताउनु भएको थियो ।

मोरङ व्यापर संघले आयोजना गरेको एक्सपो पुस ६ गते देखी पुस १६ गते सम्म सञ्चालन भएको थियो ।

Back to top button