![](https://koshisandesh.com/wp-content/uploads/2024/01/film-award.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2024/01/film-award.jpg)
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार २०८० सम्बन्धी मुद्दामा जुरीको निर्णयको सक्कल फाइल पेश गर्न चलचित्र विकास बोर्डलाई आदेश दिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद पौडेल र रमेशराज पोखरेलको संयुक्त इजलासले आज प्रमाण बुझ्ने निर्णय गर्दै उक्त आदेश दिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो । ‘आदेशानुसार सक्कल मिसिल आएपछि मात्र पेश हुनेछ,’ उहाँले भन्नुभयो ।
राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने बोर्डको निर्णयलाई चुनौती दिंदै ‘प्रकाश’ फिल्मका लेखक विकास सुवेदी, निर्देशक दिनेश राउत र जुम्लाका स्थानीय मीनराज आचार्यले असोज ४ गते रिट दायर गर्नुभएको थियो ।
बोर्डलाई विपक्षी बनाएर दायर गरिएको रिटमा जुरीको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ ।
भदौँ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । एक जना जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए ।
खासगरी सत्तारुढ माओवादी पार्टीलाई उक्त फिल्ममा नकारात्मक चित्रण गरिएकाले राजनीतिक हस्तक्षेपमा उक्त विधामा पुरस्कार नबाँडिएको भन्ने प्रतिक्रिया पनि आएका थिए । असोज ५ गते अदालतले उत्कृष्ट चलचित्र घोषणा नगर्नुको लिखित कारण पेश गर्न आदेश दिएको थियो ।
अध्यक्ष भुवन केसीले वारेसमार्फत पेश गरेको जवाफमा फिल्म ‘प्रकाश’लाई जुरीले उत्कृष्ट चलचित्र भनी सिफारिस गरेको तर बोर्डका एक जना सदस्य रविचन्द्र अधिकारीले उजुरी निवेदन दिएपछि गठित ३ सदस्यीय समितिले दिएको प्रतिवेदनको सुझावको आधारमा उत्कृष्ट राष्ट्रिय चलचित्र विधाको पुरस्कार स्थगन गरिएको दाबी गरिएको छ ।