नेकपा एसको बटमलाइनः राष्ट्रिय सभामा ३ सिट चाहिन्छ, नभए मन्त्री देऊ

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले राष्ट्रिय सभामा आफ्नो दलले ३ सिट पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राख्नुभएको छ ।

राष्ट्रिय सभाको १९ सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । नेताहरुका अनुसार नेपाली कांग्रेस र नेकपा एसको दाबी मिलेको छैन । कांग्रेस–माओवादी केन्द्रका नेताहरुले गरेको भागबण्डामा कांग्रेस १०, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टीले एक सिट लिने भन्ने छ ।

तर, त्यसमा एसले मानेको छैन । उसले आफूले ३ सिट पाउनुपर्ने अडान राखेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पनि एसका नेताहरुले तीन सिट पाउनुपर्ने आफूहरुको बटमलाइन भएको बताएका छन् । ‘हिजो पनि हामीले त्यही भनेका हौं, आज पनि ३ सिट बटमलाइन हो भनेर उठेको छौं’ महासचिव घनश्याम भुसालले भन्नुभयो ।

एकीकृत समाजवादीले ३ सिट लिने अवस्था बन्यो भने कांग्रेसको १ सिट घट्ने छ र ९ हुनेछ ।

स्रोतका अनुसार ३ सिट नदिने हो आफूहरुले सबैतिर उम्मेदवार उठाउने एकीकृत समाजवादीको चेतावनी छ । ‘एकीकृत समाजवादीका नेताहरुले तेस्रो सिट दिन नसक्ने हो भने एउटा मन्त्री दिनुपर्छ भनेर भनेका छन्,’ एक नेता भन्छन्,‘त्यसमा लिखित सहमति भयो भने एकीकृत समाजवादी २ सिटमा मान्न सक्छ ।’

Back to top button