मोरङ पथरीका विनोद राईलाई भ्वाइस अफ नेपाल सिजन ५ को उपाधी

विराटनगर । मोरङको पथरी शनिश्चरेका विनोद राईले भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि जित्नुभएको छ । गएराती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ‘ग्राण्ड फिनाले’मा उहाँले उपाधि जित्नुभएको हो ।

बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्नुभएको थियो । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित हुनुभयो । उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो ।

दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जित्नुभएको हो । जितसँगै उहाँले २० लाख नगदसहितका पुरस्कार प्राप्त गर्नुभएको छ । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल लगायतका अतिथिले विजेतालाई पुरस्कार प्रदान गर्नुभयो ।

फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिनुभएको थियो । भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित हिमालय लोकस्टारका जजले पनि सांगीतिक प्रस्तुति दिनुभयो ।

कोच र फाइनलिस्टले प्रस्तुति दिँदा फिनालेको माहोल रोमाञ्चक बनेको थियो । चर्चित लोक तथा दोहोरी गायक राजु परियार र बद्री पँगेनीले पनि प्रस्तुति राख्नुभएको थियो । भ्वाइसको पहिलो सिजनका विजेता सीडी विजय अधिकारीले आफ्नो हिट गीत ‘दूरी मजबूरी’ गाएर दर्शकलाई मनोरञ्जन दिलाउनुभयो ।

ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडी र भ्वाइस अफ नेपालको युट्युव च्यानलबाट गरिएको थियो । यता राईले उपाधि जितेपछि मोरङ पथरी शनिश्चरेबासी हर्षिद भएका छन् ।

विनोद राई जिताऔं अभियानका संयोजक सन्तोष राईले भ्याइस अफ नेपालको उपाधि दिलाउन भोटको लागि सहयोग गर्ने सबैलाई आभार ब्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘विनोद राईलाई ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को उपाधि दिलाउन भोटको लागि सहयोग गर्नुहुने पथरी शनिश्चरे निवासी आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरु सबैमा हार्दिक आभार प्रकट गर्दछौं । साथै नगरका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी साथीहरु, विभिन्न संघ संस्थाहरुमा हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छौं ।’

इलाममा जन्मनुभएका विनोद राई पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ भोटेघुम्ती थुम्के चौक निवासी हुनुहुन्छ ।

Back to top button