नेपाल आइडल सिजन ५ को अडिसन हेटौंडामा सुरु

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल आइडलको पाँचौ सिजनको अडिसन सुरु भएको छ । आज हेटौंडा उपमहानगरपलिका–९ स्थित कृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुलमा प्रि–अडिसन भएको हो ।

प्रि–अडिसन मकवानपुरसहित छिमेकी जिल्लाहरूबाट गायनमा रुचि भएकाहरूको उत्साह रहेको छ । नेपाल आइडलको प्रि–अडिसन चितवनबाट बिहानै हेटौंडा आउनुभएकी सिर्जना थापाले आफूले यसअघि पनि विभिन्न सांगीतिक कार्यक्रमहरूमा सहभागी हुँदै आएको बताउनुभयो ।

उहाँले नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा भविष्य बन्ने विश्वास भएकाले सहभागी हुन आएको बताउनुभयो।

यस्तै, हेटौंडा–९ कर्राबाट अडिसनका लागि आउनुभएका सुमन परियारले यसअघि अन्य यस्ता कार्यक्रमहरूमा सहभागी जनाएको बताउनुभयो। उहाँले भन्नुभयो,‘ अन्य कार्यक्रमहरूमा सहभागिता जनाउँदा सबैबाट राम्रो फिल्ड ब्याक आएको थियो । गीत संगीतमा सानैदेखि रुचि भएकाले नेपाल आइडलमा आएको हुँ।’

गत पुस २१ गतेदेखि झापाबाट सुरु भएको सिजन ५ को अडिसनको भोलि दोस्रो चरणको अडिसन हुने सिजन ५ का निर्देशक सुरेश पौडेलले बताउनुभयो। हेटौंडापछि आइडलको अडिसन माघ ८ मा अत्तरिया, माघ १३ मा विरेन्द्रनगर, माघ १८ मा घोराही, माघ २३ मा पोखरा र अन्त्यमा काठमाडौंमा हुने उहाँले बताउनुभयो।

नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बास्कोटा निर्णायकको भूमिकामा हुनुहुन्छ भने कार्यक्रमलाई रीमा विश्वकर्मा र आशिफ शाहले होस्ट गरिरहनुभएको छ । नेपाल आइडलमा यसअघिका सिजनहरू १ देखि ४ सम्म क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर विजयी हुनुभएको थियो ।

Back to top button