मुख्यमन्त्री कार्कीको सय दिन : पोल्टोभरि मन्त्रालय , अन्जुलीमा अट्ने उपलब्धि

विराटनगर : नेपाली कांग्रेसको ८ जना ‘विद्रोही’ प्रदेशसभा सदस्य र नेकपा एमालेको ३९ जना प्रदेश सभा सदस्यको समर्थनमा असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएर असोज २८ गते पदभार ग्रहण गर्नु भएका केदार कार्कीले पदभार ग्रहण गरेको १०० दिनको अवसरमा सरकारले गरेको कामको फेहरिस्त प्रस्तुत गर्नु भएको छ । सोमबार प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्रीको जिम्मेवारीसँगै थप ५ वटा मन्त्रालयको मन्त्रालयगत उपलब्धि सुनाउनु भएको थियो।

नेपालको संविधानको धारा १६८ को उपधारा ५ का मुख्यमन्त्री कार्कीले आफूले प्रदेश सभामा रहेको बहुमत सदस्यको समर्थनमा विश्वासको मत पाएर प्रदेशवासीको मतको सरकारको नेतृत्व गरेको दावी गरे पनि कांग्रेसबाटै निर्वाचित प्रदेश सभा सदस्यहरुको समर्थन समेत आफूलाई प्राप्त नभएको अवस्थामा प्रदेशसभाको ठुलो दल एमाले र कांग्रेसको ८ प्रदेश सभा सदस्यको समर्थनले मात्रै आफ्नो नियुक्ती सम्भव भएको बिषयलाई भने आफ्नो सम्बोधनमा उल्लेख गर्न चाहनु भएन। एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त कार्कीले विश्वासको मत दिएकै भरमा एमाले बाहेकको गठबन्धनसँग गर्नु भएको सहकार्यलाई कार्कीले सहजरुपमा लिएको देखिन्छ जसलाई संसदीय राजनीतिका जानकारहरु भने असहज रुपमा लिन्छन्।

हाल आफ्नै पोल्टोभरि प्रदेशका ५ मन्त्रालय राखेर प्रदेशमा ‘ वन म्यान सो ‘ संचालन गरिरहनु भएको कार्कीले मुख्यमन्त्री तथा ५ वटा मन्त्रालयको उपलब्धि बताई रहँदा नियमित र अपूर्ण र सुरुनै नभएको योजनालाई समेत उपलब्धिको रुपमा प्रस्तुत गर्नु भएको थियो। मुख्यमन्त्री भएको १०० दिनको उपलब्धिमा सूचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य अम्बरबहादुर विष्ट सभामुखमा निर्विरोध निर्वाचित हुने परिस्थितिलाई समावेश गर्नु भएको कार्कीले मन्त्रीपरिषद् विस्तार गर्न नसकेको बिषयलाई भने उल्लेख गर्न चाहनु भएन।

सोमबार विराटनगरमा उद्घाटन गरिएको शैलजा आचार्य हृदय रोग केन्द्रलाई मुख्यमन्त्री कार्कीले आफ्नो मुख्य उपलब्धिको रुपमा प्रस्तुत गर्नु भएको छ। सोमबारनै उद्घाटन भएको सो केन्द्रले हाल ओपीडी मात्र संचालन गर्ने र मुटुको शल्यक्रिया जस्ता गम्भीर किसिमको उपचार भने हाल नहुने स्पस्ट परेको छ। प्रचारको लागि हतारमा उद्घाटन गरिएको अस्पतालले दिर्घ जीवन पाउने निश्चितता नभएको अवस्थामा समेत कार्कीले त्यसलाई उपलब्धिको रुपमा समेट्नु भएको छ। देशको राजधानी काठमाडौँमै मुटुरोगको चिकित्सकको संख्या घटी रहँदा पूर्ण रुपले स्रोत र निर्वाध संचालनको निश्चितताको अभावमा डाक्टरहरु आएर सेवा दिने विषयनै अन्योलपूर्ण रहेको छ।

हालको प्रदेशको स्वास्थ्यमन्त्रीको समेत भूमिकामा रहनु भएको कार्कीले इटहरीको वडा नं ११ पकलीमा एक सय शय्याको जलन अस्पताल निर्माणलाई समेत आफ्नो उपलब्धिमा समेट्नु भएको छ जबकि हालसम्म उक्त अस्पतालको डिपीआर समेत तयार भएको छैन। जलन अस्पतालको निर्माणको लागि जनस्वास्थ्य ट्रस्टसँग सम्झौता गर्नु भएको कार्कीले प्रदेश सरकारले अस्पताललाई आर्थिक अनुदान प्रदान गर्ने बताईरहँदा हालसम्म उक्त अस्पतालको निर्माण हुने विषयनै टुंगोमा पुगेको छैन।

कार्कीको उपस्थितिमा भएको प्रदेशस्थित प्रादेशिक अस्पताल र चार वटा निजी अस्पतालले १० वर्षमुनिको बालबालिकाको लागि निशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्रालयसँगको सम्झौता प्रदेशवासीको लागि उपलब्धिमूलक देखिन्छ। मन्त्रालयले विराटनगरका तीन हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल र काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकसँग दुई पक्षीय सम्झौता गरी बालबालिकाको निःशल्क उपचार सुरू गर्ने सम्झौता गरेको थियो।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार ग्रहण गरिरहनु भएका मुख्यमन्त्री कार्कीले बजेट प्रतिस्थापन विधेयकलाई प्रदेश सभा बाट पास गर्नुलाईनै आफ्नो उपलब्धिको रुपमा प्रस्तुत गर्नु भएको छ। कुल ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याउनु भएको कार्कीले बजेटको खर्च प्रतिशत ४ % बाट वृद्धि गराएर २१.३९ % मा पुर्याउनुलाई उपलब्धि भनेर प्रस्तुत गर्नु भएको छ। कुल बजेटको पुँजीगत खर्चको १३.४० % र चालु खर्चको ३०.१९ % खर्च गर्नु भएको कार्कीले पुँजीगत खर्च कम हुनुको बिषयमा भने केहि उल्लेख गर्नु भएको छैन।

यस बाहेक कार्कीले प्रदेश सभाबाट पास गरिएको ऐन , मन्त्रालयगत बिषयका मस्यौदा निर्माण , पुलको डिपिआर तयार , मनसुनजन्य समस्या बाट पिडितलाई राहत , बेवपोर्टल निर्माण , वार्ता समिति गठन जस्ता बिषयलाई समेत उपलब्धिमूलक रहेको भन्दै सूचीमा समेट्नु भएको छ।

Back to top button