विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन सम्पन्न

विराटनगर / विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । बुधबार महानगरको हलमा सम्पन्न नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सबै नगरसभा सदस्यहरूको साथ र सहयोगबाट विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेको बताउनुभएको छ ।

उहाँले सीमित स्रोत र साधनबाट महानगरवासीको असीमित चाहना परिपूर्तिका लागि खटिरहेको बताउनुभयो । मेयर कोइरालाले अघिल्लो आर्थिक वर्ष ७३ प्रतिशत बेरुजु फछ्र्यौट गरेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा बेरुजुलाई शून्यतातर्फ लाने प्रयन्त गरिरहेका बताउनुभयो ।

मेयर कोइरालाले टोल विकास संस्था परिचालन गरी विराटनगरको सौन्दर्यकरणसहित विकास अभियानमा सहभागी गराउने योजना रहेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार निर्माणको कार्यलाई पनि तीव्रता दिइरहेको बताउनुभयो ।

त्यस्तै मेयर कोइरालाले जाइकाको आर्थिक सहयोगमा निर्माण हुने खानेपानी आयोजना ठेक्का प्रक्रियामा गइसकेको र सडक, ढल, नाला तथा फोहोर व्यवस्थापनका लागि संघीय सरकारमार्फत दातृ संस्थाहरूको सहयोग जुटाउनका लागि पहल भइरहेको बताउनुभयो ।

नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८०-८१ को अर्ध वार्षिक समीक्षा प्रस्तुत गर्नुभयो । चालु आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख आय अनुमान गरिएकोमा पुस मसान्तसम्म १ अर्ब ८ करोड ६८ लाख ५१ हजार ७ सय अर्थात् ३३ प्रतिशत मात्रै भएको उमेयर कार्कीले प्रस्तुत गर्नुभयो ।

यसैगरी कुल अनुमानित व्यय ३ अर्ब २८ करोड ५० लाख अनुमान गरिएकोमा पुस मसान्तसम्म यथार्थ व्यय १ अर्ब ३ करोड १६ लाख ९३ हजार ८ सय रुपैयाँ अर्थात् ३१ दशमलव १४ प्रतिशत मात्रै भएको कार्कीले बताउनुभयो ।

सो खर्चमध्ये पुँजीगततर्फ ३८ करोड ६७ लाख १६ हजार ७ सय रुपैयाँ अर्थात् ३० दशमलव ६५ प्रतिशत र प्रशासनिक एवं चालुतर्फ ६२ करोड १५ लाख १९ हजार ३ सय रुपैयाँ अर्थात् ४० दशमलव १४ प्रतिशत भएको उमेयर कार्कीले अर्धवार्षिक समीक्षामा प्रस्तुत गर्नुभयो ।
महानगरले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड ७ लाख ९६ हजार ९ सय रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ ।

महानगरले चालु आर्थिक वर्ष ८९ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पुस मसान्तसम्म लक्ष्यको २३ दशमलव ५५ प्रतिशतमात्रै आन्तरिक राजस्व संकलन भएको उपमेयर कार्कीले प्रस्तुत गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ ७० करोड २५ लाख ३ हजार रुपैयाँ अनुमान गरिएकोमा १३ करोड ४२ लाख २२ हजार ९ सय रुपैयाँ अर्थात् १९ दशमलव ११ प्रतिशतमात्रै प्राप्त भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुमान गरिएकोमा ६७ करोड ८८ लाख ६४ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त भएको कार्कीले बताउनुभयो ।

प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ४ करोड ६६ लाख ६३ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म १ करोड २९ लाख ७६ हजार ७ सय रुपैयाँ प्राप्त भएको उहाँले जनाउनुभयो ।

यस्तै जनसहभागितातर्फ ८ करोड ७९ लाख ३४ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म ९४ लाख ४७ हजार रुपैयाँ मात्रै जनसहभागिता जुटेको उपमेयर कार्कीले जानकारी दिनुभयो । ३ अर्ब २८ करोड ५ लाख रहेको बजेटलाई नगरसभाले संशोधन गरी ३ अर्ब ३४ करोड ६७ लाख १२ हजार पुर्‍याएको छ ।

त्यसैगरी न्यायिक समितिका सदस्य तीर्थेन्द्र नेउपाने, अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक बलराम कारञ्जित, विधेयक समितिका संयोजक दीपककुमार कर्ण, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, पूर्वाधार विकास समितिका संयोजक कुमार पोखरेल, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकाा संयोजक वासुबहादुर बस्नेत, सुशासन तथा संस्थागत विकास समितिका संयोजक सूर्यलाल यादवले आ–आफ्नो समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नगरसभाले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । सभामा सदस्यहरू रोम भट्टराई, अञ्जु दाहाल, सुरज न्यौपानेलगायतले महानगरको विकासका सन्दर्भमा विभिन्न सुझावसँगै विचार व्यक्त गर्नुभएको थियो । नगरसभाले नगर प्रहरी विधेयक, बजार व्यवस्थापन तथा अनुगमन विधेयक, कृषि विधेयकसहित विभिन्न विधेयक र ऐनसमेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

Back to top button