विराटनगरमा क्यान्सर सचेतना सम्बन्धी ‘आशा – क्लोज द केयर ज्ञाप’ कार्यक्रम हुँदै

विराटनगर : विराटनगरमा रेवन्त-रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट आयोजनामा क्यान्सर रोग सचेतना सम्बन्धी ‘ आशा – क्लोज द केयर ज्ञाप ‘ कार्यक्रम संचालन हुने भएको छ। इन्स्टिच्युटले माघ २१ गते विश्व क्यान्सर दिवसको अवसर पारेर ‘ आशा – क्लोज द केयर ज्ञाप ‘ कार्यक्रम अन्तर्गत १६ वटा भिन्दै कार्यक्रम आयोजना गर्ने भएको हो।

आज नेपाल पत्रकार महासंघ , मोरङको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले  पिडितको क्यान्सर रोगको उपचारसँगको पहुँचलाई सरल बनाउने , निम्न आर्थिक हैसियतका पिडितको उपचारार्थ सहयोग जुटाउने तथा व्यापक स्तरमा क्यान्सर रोग सम्बन्धी सचेतना फैलाउने उदेश्यसाथ कार्यक्रम आयोजना गर्न लागिएको बताउनु भएको थियो।

कार्कीका अनुसार इन्स्टिच्युटले आयोजना गर्न लागेको आशा कार्यक्रम अन्तर्गत स्कूल र्याली , साइकल र्याली ,स्कुटर र्याली , कार र्याली , म्याराथन , मेडिटेसन , मास कार्डियो , क्यान्सर रोग विशेषज्ञद्वारा सूचनामूलक प्रस्तुति , विभिन्न स्कूलका विद्यार्थीहरुको प्रस्तुति लगायतको कार्यक्रमहरुलाई समावेश गरिएको छ ।

त्यस्तै ,कार्यक्रममा नेपाल क्यान्सर सर्भाइभल सोसाइटीबाट १० जना भन्दा बढी क्यान्सर रोगलाई पराजित गरेको व्यक्तिहरुले आफ्नो अनुभव समेत सुनाउनु हुने छ।

इन्स्टिच्युटले कार्यक्रमको आयोजना गर्न विभिन्न व्यापारिक तथा सामाजिक संस्थासँगको साझेदारीमा हालसम्म ६५ लाख रकम उठाएको र सो रकम निम्न आर्थिक हैसियतको क्यान्सर पिडितको उपचारमा खर्च गर्ने तयारी गरेको छ।

सोहि दिन हाल संचालनमा रहेको क्यान्सर इन्स्टिच्युट औपचारिक उद्घाटन कलाकार मदनकृष्ण श्रेष्ठ , प्रतिनिधि सभा सदस्य डा. शेखर कोइराला र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने कार्यक्रम समेत तय भएको कार्कीले बताउनु भयो।

Back to top button