ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने काम गर्दैनौं समाधानपत्र दिन्छौं स् रास्वपा सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विकास आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि ती आयोजना निर्माण गर्ने उपायसहित समाधानपत्र सरकारलाई बुझाउने बताउनुभएको छ ।

मेलम्चीबाट विकास आयोजनाहरुमा दबाब अभियान सुरु गर्दै उहाँले २१ विकास आयोजनामा पार्टीका सांसदको नेतृत्वमा दबाब अभियान सञ्चालन गर्ने र सरकारलाई समाधानपत्र बुझाउने बताउनुभएको छ ।

दबाब यात्रामा पार्टीको भौतिक पूर्वाधार विकासका सदस्य र स्वतन्त्र विज्ञहरु पनि सहभागी हुने र अन्तिममा ती आयोजना कसरी निर्माण हुन सक्छ भन्ने विषयमा समाधान पत्र सरकारलाई बुझाउने उहाँको भनाइ छ । ‘ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने काम गर्दैनौं, समाधानपत्र दिन्छौं’, उहाँले भन्नुभयो ।

यसअघि धेरै नेता र सांसदले आयोजनाहरुको निरीक्षण गरेको र सरकारलाई ज्ञापन पत्र बुझाएको तर त्यसले आयोजना छिटो पूरा हुन कुनै भूमिका निर्वाह नगरेको सभापति लामिछानेले बताउनुभयो ।

उहाँले विकास आयोजनाहरु तोकिएको लागत र समयमा पूरा हुनैपर्ने भन्दै के कारणले आयोजनाहरु पूरा हुन नसकेका हुन् त्यसको खोजी गरिने बताउनुभयो ।

मेलम्ची आयोजनाको दबाब अभियानमा रास्वपा सभापति लामिछाने नेतृत्वको टोली आज नै सिन्धुपाल्चोकतर्फ जाँदैछ । उहाँहरु गाग्रीसहित मेलम्चीको मुहानतर्फ जाँदै हुनुहुन्छ । सभापति लामिछानेले मेलम्चीमा अहिलेसम्म ६२ अर्ब रुपैयाँ खर्च गर्दा पनि अझै काठमाडौंमा पानी आउने निश्चित नभएको बताउनुभयो ।

यस्तै, २१ वटा आयोजनामा दबाब अभियान सञ्चालन गरेपछि देशका अन्य आयोजनाहरुमा पनि दबाब दिइने उहाँले बताउनुभयो । त्यसका लागि आयोजना छान्न र दबाब अभियानका लागि तयार रहन लामिछानेले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

आफूहरुले अलपत्र परेका विकास आयोजनामा दबाब अभियान सञ्चालन गर्दा राजनीति र कुटनीतिक क्षेत्रको चासो देखिएको भन्दै लामिछानेले भन्नुभयो,‘राजनीति कुटनीतिसँग केही सरोकार छैन, नेपाली जनता हिँड्ने बाटो राम्रो हुनुपर्‍यो, एउटा बाटोका लागि एक युग पर्खिन सकिँदैन ।’

Back to top button