बी डिभिजन क्रिकेटः मिल्स र बेलबारी सेमिफानलमा प्रवेश

विराटनगर । मोरङ जिल्ला स्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा मिल्स क्रिकेट क्लवले इलाइट क्रिकेट क्लवलाई २५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २३ ओभरको खेलमा २२ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ५ रन बनाएको थियो ।

जस्मा म्यान अफ द म्याच विशाल ढकालले ३० रन बनाउँदा विशाल रिसिदेवले १७ रन बनाउनुभयो । इलाइटका सोनी सिंहले ३ विकेट लिँदा अमर यादव र सलन कामतले समान २–२ विकेट लिनुभयो ।

यस्तै, १ सय ६ रनको विजयी लक्ष पछ्याएको इलाइटले २१ ओभरमा सवै विकेट गुमाई ८० रन बनायो । जस्मा सागर मल्लिकले २६ रन बनाउँदा रुद्र साहले १३ रनको योगदान दिनुभयो । मिल्सका आयुस श्रेष्ठले ३ विकेट लिँदा कृष्ण मण्डल र रितीक चौधरीले २–२ विकेट लिनुभयो ।

दोस्रो खेलमा वेलबारी क्रिकेट क्लवले पथरी शनिस्चरे क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पथरीले निर्धारित २५ ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई ९३ रनमा सिमित भयो । जसमा आवेश कार्कीले १७ रन बनाउँदा सागर कटुवालले १६ रन बनाउनुभयो । वेलबारीका विदुर महताराले सर्वाधिक ३ विकेट लिनुभयो ।

यस्तै, ८८ रनको विजयी लक्ष्य पछ्याएको वेलबारीले १८ दशमलव ४ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच दिपेश सुवेदी ४२ रन बनाउँदा सचिन कलुवालले २२ रनको योगदान दिनुभयो । पथरीका केविल राई र नेल्सन डैगोलले २–२ विकेट लिनुभयो ।

Back to top button