लघुवित्तले धित्तो राखेर ऋण लगानी गर्नुहुँदैन : कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले लघुवित्त संस्थाले चलअचल सम्पत्ती धितो राखेर ऋण लगानी गर्न नहुने बताउनु भएको छ । कोइरालाले सम्पत्ती धितो राखेर ऋण प्रदान गर्ने व्यवस्थालाई पुन: विचार गर्दै लघुवित्त संस्थाहरूले सदस्यहरूलाई सिप सिकाउने प्रकियामा जोड्दै लानु पर्ने बताउनु भएको हो ।

आज विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय सदस्य सम्मेलनको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक बिषयको छलफल कार्यक्रममा बोल्दै कोइरालाले लघुवित्त क्षेत्रमा देशको ६० लाख जनसङ्ख्या जोडिएकोले देशको अर्थतन्त्रमा सो क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास लिएको बताउनु भएको थियो ।

कोइरालाले ग्रामिण विकास बैङ्कको उदाहरण दिँदै लघुवित्त संस्थाहरूको कर्मचारीहरूको गलत व्यवहार तथा आचरणले गर्दा लघुवित्त क्षेत्रमा पनि समस्या आउन सक्ने सचेत समेत गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलले लघुवित्त संस्थाहरू समाजको निम्न वर्गको उत्थानको लागि क्रियाशिल रहेको बताउनु भएको थियो । मण्डलले आफू लघुवित्तको क्षेत्रमा काम गरेर आएको हुनाले विकासको अभियानमा लघुवित्त क्षेत्रले ठूलो भूमिका खेल्नेमा आफ्नो विश्वास रहेको बताउनु भएको थियो ।

त्यस्तै , कोशी प्रदेश सभा सदस्य गयानन्द मण्डलले लघुवित्तको समस्या समाधानको लागि प्रदेश सभाबाट भूमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

जीवन विकास लघुवित्त संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले नेपाल भरि लघुवित्तमा ६० लाख सदस्य आवद्ध रहेको र त्यसमा २३ लाखले ऋण लिएर व्यपार व्यवसाय सञ्चालन गरिरहेको आँकडा प्रस्तुत गर्नु भएको थियो ।

Back to top button