अर्थतन्त्र सिस्टममा ल्याउन अझै २ वर्ष लाग्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक भएपनि बजेटरी सिस्टममा समस्या भएको बताउनुभएको छ । त्यसलाई सिस्टममा ल्याउन अझै २ वर्ष लाग्ने उहाँले बताउनुभयो ।

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सव कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री महतले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको बताउनुभयो ।

‘अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसलाई सिस्टममा ल्याउन २ वर्ष लाग्छ,’ मन्त्री महतले भन्नुभयो,‘किनकी हिजोका दिनमा धेरै अनुत्पादक क्षेत्रमा खर्च भयो । आवश्यकताभन्दा ठूला–ठूला संरचनामा खर्च भए । दीर्घकालीन आवश्यकता र प्राथमिकताविना खर्च भए ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एकसाथ ३ सय ९६ अस्पताल शिलान्यास भएको उदाहरण दिंदै उहाँले विगतको सरकारले पछि तिर्ने गरेर पहिल्यै खर्च गरेकाले त्यसको सम्पूर्ण दायित्व अहिलेको सरकारले व्यहोर्नु परिरहेको बताउनुभयो ।

‘बेथितिबाट बजेट खर्च भएको थियो, बेथितिलाई थितीमा ल्याउन अझै समय लाग्छ,’ मन्त्री महतले भन्नुभयो । तर, समग्रमा अर्थतन्त्र लयमा फर्किंदै गरेको बताउँदै उहाँले भन्नुभयो,‘बाह्य क्षेत्र सकारात्मक छ । आन्तरिक क्षेत्र पनि सकारात्मक हुँदै गएको तथ्यांकले नै देखाएको छ ।’

अहिले मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघेको जानकारी दिंदै मन्त्री महतले त्यसलाई खर्च गर्न भने समस्या भएको बताउनुभयो । आगामी दिनमा त्यो खर्च पनि तीव्ररुपमा बढ्ने उहाँले बताउनुभयो ।

‘पुँजी आएको छ तर त्यसलाई खर्च गर्न समस्या भएको छ । अब आउने दिनमा त्यो खर्च पनि तीव्र रुपमा बढ्छ । किनकि ठेक्का लाग्ने प्रक्रियामा छ,’ उहाँले भन्नुभयो,‘तर सरकारको पुँजीगत खर्चले मात्र अर्थतन्त्र चलायमान हुँदैन । त्यो सानो हिस्सा मात्र हो ।’

यस्तै, सरकारको धेरै बजेट सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलबभत्ता र विदेशी ऋणको सावाँ ब्यामा खर्च हुने गरेको उहाँले जानकारी गराउनुभयो ।

Back to top button