अब यही अवस्थामा देश चल्न सक्दैन, नयाँ सम्झौता गरौं : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले देशमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको आरोप लगाउनुभएको छ । उहाँले सरकारले सुशासन र प्रगतिका कुरा गरेपनि देशमा भ्रष्टाचार र लुटतन्त्रमात्रै देखिएको बताउनुभएको हो ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष समेत रहनुभएका लिङ्देनले मुलुकलाई अघि बढाउन नयाँ सम्झौताकासाथ अघि बढ्न सुझाव समेत दिनुभयो । मुलुकमा भ्रष्टाचार र वेरोजगारी बढ्नुमा हामीले नै अबिलम्बन गरेको प्रणाली दोषी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘यही निर्वाचन प्रणाली,यही नियुक्ति प्रणाली, यही ऐन निर्माण गर्ने विधिबाट हामीले अपेक्षा गरेको परिवर्तन संभव छैन मात्रै होइन कुनै हालले देश अगाडि बढ्न सक्दैन । यो कुरा राप्रपाले मात्रै होइन यो उत्कृष्ट व्यवस्था हो भनेर ल्याउने र लड्ने सबैले स्वीकार गरिसकेका छन्। त्यसैले म आग्रह गर्छु तपाईंले परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो यो गणतन्त्र होइन। अहिले जनताले गणतन्त्रलाई लुटतन्त्र हो भनेर भन्ने गरेका छन्।’

लिङ्देनले कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्न सक्दैन भन्ने कुरा प्रमाणित भइसक्यो धारणा व्यक्त गर्नुभयो। उहाँले आफ्नो अहमतुष्टिका लागि देशलाई बन्धक नबनाउन समेत आग्रह गर्नुभयो।

उहाँले अहिले मुलुक सीमित राजनीतिक दलका नेताको कैदमा रहेको र देश यही अवस्थामा राखिराख्न नहुने बताउनुभयो ।

Back to top button