कोशीका मुख्यमन्त्री कार्कीको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी संगठनको आपत्ति

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दिएको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी संगठनले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै संगठनले मुख्यमन्त्री कार्कीले दिएको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

संगठनका अध्यक्ष ओमराज सुवेदी र सचिव शालिग्राम कोइरालाले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री कार्कीको अभिव्यक्ति अपरिपक्व र हचुवा भएको उल्लेख गरिएको छ । उक्त अभिव्यक्तिले सबै तहका राष्ट्रसेवक कर्मचारीको शिर निहुरिएको विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘प्रतिस्पर्धामा श्रेष्ठता खोज्ने हामी तमाम राष्ट्रसेवकहरू हजारौँको प्रतिस्पर्धामा आफूलाई अब्बल र श्रेष्ठ साबित गर्न सफल भएर राष्ट्र सेवाका विभिन्न तहमा बसी नागरिकको सेवा प्रदान गरी आएका छौँ । योग्यता प्रणालीमा विश्वास गर्नेहरू प्रतिको मुख्यमन्त्रीज्यूको कोरा अपरिपक्व हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरूको शिर निहुरिएको छ ।’

संगठनले कडा मेहनत र परिश्रमबाट प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्दै सार्वजनिक प्रशासनको मूल आधार स्तम्भ रहेको खरदार र सुब्बा तहका कर्मचारी राष्ट्रसेवकको उदाहरण दिँदै मुख्यमन्त्रीले व्यक्त गरेको विचार आफैँमा अपरिपक्व रहेको ठहर गरेको छ ।

Back to top button