पाकिस्तानमा आज मतदान जारी, मोबाइल सेवा बन्द

काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचनको दिन देशभर मोबाइल सेवा बन्द गरिएको छ । गृह मन्त्रालयले सूचना जारी गरी सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले मोबाइल सेवा अस्थायी रुपमा बन्द गरिएको जनाएको छ ।

सूचनामा लेखिएको छ,‘देशमा हालै भएको आतंकवादी घटनाका कारण कयौंको ज्यान गएको छ । सम्भावित खतराबाट जोगिनका लागि सुरक्षाका उपाय अपनाउन आवश्यक छ । त्यसैले देशभर मोबाइल सेवा अस्थायी रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।’

मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तमा भएका बम विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको थियो । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जनालाई परिचालन गरिएको रेडियो पाकिस्तानले जनाएको छ ।

यस्तै, पाकिस्तानमा आज ३ सय ३६ सिटका लागि निर्वाचन भइरहेको छ । सरकार बनाउन कम्तिमा १ सय ६९ सिट जित्नु आवश्यक छ । २ वर्षअघि अविश्वास प्रस्ताव ल्याएर इमरान खान नेतृत्वको सरकार ढालिएको थियो । हाल इमरान खान भ्रष्टाचार आरोपमा जेलमा बन्द छन् । उहाँलाई १४ वर्षको जेल सजायँ सुनाइएको छ । उहाँ नेतृत्वको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) लाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ । त्यसैले पीटीआईका उम्मेदवारहरु स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस्तै, ३ पटकसम्म प्रधानमन्त्री बनिसक्नुभएका नवाज शरीफ पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ । नवाज शरीफको कट्टर आलोचक इमरान खान जेलमा रहेको र उनको पार्टी पीटीआईलाई चुनाव लड्न रोक लगाइएकाले नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले चुनाव जितेर नयाँ सरकार बनाउने अनुमान गरिएको हो ।

यसैगरी बुलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पनि यो निर्वाचनको प्रमुख प्रतिस्पर्धी हो । पीपीपीले जरदारीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।

Back to top button