कोशी सरकार र पहिचान पक्षधरबिच आज वार्ताको तयारी

काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच आज वार्ताको तयारी गरिएको छ । पहिचानसहितको कोशी प्रदेशको पुनः नामाङकन गरिनुपर्ने लगायत माग गर्दै आन्दोलन गरिरहेको समिति आज कोशी प्रदेश सरकारसँग वार्ता गर्न तयार भएको हो ।

प्रदेश सरकार र पहिचान पक्षधरबिचको वार्ता दिउँसो ३ बजेपछि विराटनगरमा हुनेछ ।

केही समयअघि कोशी प्रदेश सरकारले वार्ताका लागि समितिलाई पत्र पठाएको थियो । समितिले हिजो सरकारसँग वार्ता गर्ने निर्णय गरेको थियो । पहिचान पक्षधरहरुले सरकारसँग वार्ताका लागि ११ सदस्यीय समिति गठन गरेको छ ।

यस्तै माघ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ता समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल हुनुहुन्छ ।

गत फागुन १७ गतेको प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्षले पुनः नामकरणको माग गर्दै विरोध गर्दै आएका छन् ।

Back to top button