मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तारमा सरकार प्रतिवद्ध : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आज ललितपुरको लगनखेलमा रहेको मानसिक स्वास्थ्य अस्पतालमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन गर्दै उहाँले मानसिक स्वास्थ्य समस्याका कारण अहिले मृत्युवबरण गर्नेको संख्या वृद्धि भइरहेको भन्दै मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो।

मन्त्री बस्नेतले समयमा नै मानसिक स्वास्थ्य समस्याको उपचार हुन सके थप समस्या झेल्न नपर्ने जिकिर गर्नुभयो । उहाँले युवाहरूलाई समयमा नै परामर्श दिन सके मानसिक स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्न सकिने धारणा राख्नुभयो।

उहाँले स्वदेशमा नै नर्स र डाक्टर पढाउदै दक्ष जनशक्ति उत्पादन गर्न सकिने र बेरोजगारीको संख्या घट्ने उल्लेख गर्नुभयो । स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्न खोज्दा आफ्नो विरोध भएको र राजीनामा माग्ने समेत काम भएको उहाँले बताउनुभयो ।

मन्त्री बस्नेतले कसैले विरोध गरेकै कारण स्वास्थ्य क्षेत्रको सुधारको काम नरोख्ने स्पष्ट पार्नुभयो । मानसिक स्वास्थ्य अस्पताल, सिविन नेपाल र फोरट नर्वेको सहकार्यमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई स्थापना गरिएको हो ।

Back to top button