नेपालमा पहिलो पटक किशोर–किशोरी मानसिक स्वास्थ्य इकाइको स्थापना

काठमाडौं । नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना भएको छ । सरकारी स्तरको एक मात्र मानसिक अस्पतालमा किशोरकिशोरीको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य उपचारका लागि इकाईको स्थापना भएको हो ।

मानसिक अस्पताल र बालअधिकारमुखी संस्था सिविन नेपालको सहकार्यमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ शैयाको छ । जसमध्ये ६ वटा शैया जनरल र ६ वटा शैया सेमि जनरल छन् । इकाईमा मनोचिकित्सक, नसिङ, विशेष शिक्षक, समाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन् ।

उक्त इकाईले परिवार, हेरचाहकर्ता र समुदायलाई समावेश गरी मानसिक स्वास्थ्यलाई बढावा दिने सहयोगी सञ्जाल सिर्जना गर्न मनोसामाजिक सहयोग गर्ने अपेक्षा लिइएको छ ।

कार्यक्रममा मानसिक अस्पतालका निर्देशक डा.अनन्त अधिकारीले किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई सञ्चालनमा आएपछि अस्पतालको सेवा विस्तार मात्र नभएर जोखिममा रहेका समूहको समयमा उचित परामर्श र उपचारमा सहजता हुने बताउनुभयो ।

यस्तै, कार्यक्रममा इकाईका प्रमुख डा. अरुणराज कुवर, मानसिक अस्पतालकी नर्सिड प्रशासन प्रमुख शुशिला डंगोल, सिविनकी सुम्निमा तुलाधरलगायतले किशोरकिशोरीका लागि सञ्चालनमा आएको इकाईले किशोरकिशोरीको आवश्यकता अनुसार सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । देशकै एकमात्र सरकारी स्तरमा सञ्चालित मानसिक अस्पतालले बिगत ४० वर्षदेखि सेवा सञ्चालन गर्दै आइरहेको छ ।

Back to top button