संविधानमाथि नै कैयौंं कोणबाट आक्रमण भइरहेको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको संविधानमाथि धेरै कोणबाट आक्रमण भइरहेको बताउनुभएको छ ।

आज आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै उहाँले देशको संविधानमाथि कैंयौं कोणबाट प्रहार भइरहेको भन्दै अस्वभावीक रुपमा नलिई संविधानमाथि प्रहारहरु कहाँबाट भएको छ त्यसलाई चिनेर हटाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आज हामीसँग यो संविधान छ । यसलाई कैयौंं कोणबाट आक्रमण भइरहेको छ । यसलाई हामी धेरै अस्वभाविक पनि नमानौं । नेपालमा मात्र होइन् । हामी एउटा चरणमा गएर यो आक्रमणहरु सकिन्छ र एकैपटक हाम्रो यात्रा सहज हुन्छ भनेर अनुमान पनि नगरौ। । अप्ठ्यारोहरु आउँछन । त्योसँग जुद्दै जाने हो । चिन्ने र चिर्ने पनि हो । संविधानमाथि प्रहारहरु कहाँबाट आएका छन् । एउटा कोण छ आक्रमण गर्ने त्यो नयाँ पात्र हामीले नचिनेको होइन् । हामीले नहराएका पनि होईन् । तीन हातबाट खोसेर जनताले यो संविधान बनाएको हो । त्यो पुर्नउत्थान प्रवृत्ति हिजो पनि थियो, आज पनि छ । हामीले चिन्नुपर्छ ।’

संविधान मानेको जस्तो देखिने र निर्वाचनमा भाग लिएको जस्तो गर्नेहरुबाट नै संविधानमाथि प्रहार हुने गरेको उहाँको भनाइ छ । संघर्षका दिनहरुलाई सुशासनलाई पार्टीले मन्त्र बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘अर्को एउटा प्रवृत्ति पनि छ । हेर्दाखेरी संविधान मानेको जस्तो देखिने निर्वाचनमा भाग लिएको जस्तो देखिने तर ख्याल गर्‍यौं भने यसले हाम्रो इतिहासलाई ढिसमिस गर्छ । संघर्षका दिनलाई सुशासनसँग जोड्नुपर्छ । पार्टीले त्यसलाई मन्त्र बनाउनुपर्छ । आजको दिनमा नागरिक सबैभन्दा आजित कुशासनका कारणले छन् । त्यसैले कांग्रेसले मन्त्र बनाउनैपर्छ ।’

Back to top button