कोशीमा मन्त्रीपरिषद विस्तार: काङ्ग्रेस र माओवादीलाई मन्त्रालय फालाफाल, एकिकृत समाजवादीको बेहाल

विराटनगर । नेकपा एमाले फुटाएर माओवादी केन्द्रको बुई चढेको नेकपा एकीकृत समाजवादीको कोशी प्रदेशमा बेहाल भएको छ।

मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद विस्तार गर्ने क्रममा काँग्रेस र माओवादीबाट मन्त्री थप्दा गठबन्धनकै एकिकृत समाजवादी (एस) र जसपाबाट कोही परेनन्।
‘चार सिटेलाई एकभन्दा कति मन्त्री दिनु ?’, काँग्रेस र माओवादी नेताहरुले यसो भनेपछि आफ्नो संख्या थपिने आशामा रहेको एस जिल्लिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार मन्त्रीपरिषद विस्तार गरेका छन्। प्रदेशमा चार जना मन्त्री र दुई जना राज्यमन्त्री थपिएका छन्।

योसँगै प्रदेश मन्त्रीपरिषद सदस्यको संख्या १० पुगेको छ। मन्त्रीपरिषदमा अब काँग्रेसबाट मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादीबाट तीन मन्त्री र एकीकृत समाजवादीबाट एक जना मन्त्रीको प्रतिनिधित्व रहनेछ। गठबन्धनकै जसपा अहिलेसम्म मन्त्रीमण्डलमा सहभागी छैन।

यसअघि मुख्यमन्त्री कार्की, भौतिक पूर्वाधार मन्त्री कमल जवेगु (नेकपा एस), वन तथा पर्यटन मन्त्री गणेश उप्रेती (माओवादी केन्द्र) र आन्तरिक मामिलामन्त्री शमशेर राई (काँग्रेस) मन्त्री हुनुहुन्थ्यो।

प्रदेश मन्त्रीपरिषद विस्तारका क्रममा मुख्यमन्त्री कार्कीले नेपाली काँग्रेसबाट दुई जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्नुभएको छ।

यसक्रममा कार्कीले आफू मुख्यमन्त्री बन्दा पार्टी निर्णयविरुद्ध विद्रोह गरेर हस्ताक्षर गर्नेहरुलाई प्राथमिकता दिनु भएको छ । विस्तारित मन्त्रीपरिषदमा काँग्रेस संस्थापन पक्षका प्रदीप सुनुवार स्वास्थ्यमन्त्री बन्नु भएको छ। शेखर कोइराला पक्षका रामकुमार खत्री उद्योग, कृषि तथा सहकारी मन्त्री बन्नु भएको छ ।

शेखर समूहकै इन्दिरा थापा आर्थिक मामिला राज्यमन्त्री र सुनिताकुमारी गुरुङ आन्तरिक मामिला राज्यमन्त्री बन्नु भएको छ । आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री आफैले राखेर इन्दिरा थापालाई राज्यमन्त्री बनाउनु भएको हो ।

नेकपा माओवादी केन्द्रबाट थप दुई जना मन्त्री नियुक्त भएका छन्। राजेन्द्र कार्की सामाजिक विकास मन्त्री नियुक्त हुँदा नारायणबहादुर मगर खानेपानी तथा सिँचाई मन्त्री नियुक्त हुनुभएको छ ।

आज नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ समेत गराउनुभएको छ । एमालेको सहयोगमा काँग्रेसका ८ सांसदको हस्ताक्षरबाट असोज २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले असोज २८ गते सपथ लिनुभएको थियो ।

कार्कीले मंसिर १७ गते सरकारमा नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जबेगूलाई मन्त्री नियुक्त गरेपछि नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णयसँगै एमालेबाट मन्त्री बन्नुभएका राम राना मगरले राजिनामा दिनुभएको थियो ।

 

Back to top button