ताप्ली र दुहबीमा जीवन विकासको नयाँ ट्युसन सेन्टर

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले दुई वटा निशुल्क ट्युसन सेन्टर थप गरेको छ । उदयपुरको ताप्ली र सुनसरी दुहबीमा दुई वटा निशुल्क ट्युसन सेन्टर थप गरेको हो ।

उदयपुरको ताप्ली गाउँपालिका– ५ गहतेमा सञ्चालित निशुल्क बालबालिका अध्ययन केन्द्र -ट्युसन सेन्टर _ को उद्घाटन शुक्रबार सोही वडाका वडाअध्यक्ष विष्णु श्रेष्ठ र लघुवित्तको उदयपुर जिल्ला प्रमुख विश्वास श्रेष्ठले गरे ।

सुनसरीको दुहबी नगरपालिका– ४ मलहट्टी टोलमा स्थापना भएको सेन्टरको पनि शुक्रबार नै उद्घाटन भयाे । दुहबी ४ का वडा अध्यक्ष महम्मद मुस्तकिम मियाँ र लघुवित्तको आइएसडी विभाग प्रमुख विजयकुमार मण्डलले संयुक्त रुपमा ट्युसन सेन्टरको उद्घाटन गरे । ताप्लीको केन्द्रमा २५ जना र दुहबीको केन्द्रमा २७ जना बालबालिकाले निशुल्क ट्युसन पढिरहेका छन् ।

जीवन विकास लघुवित्तले तीन वर्षअघि मोरङको डाइनियाबाट निःशुल्क ट्युसन सेन्टर सुरु गरेको थियो । अहिले २४ जिल्लाका विभिन्न ७२ स्थानमा निशुल्क ट्युसन सेन्टर सञ्चालन गरिरहेको छ । ती सेन्टरमा एक–एक जना शिक्षकले रोजगारी पाएका छन् ।

विपन्न समुदायका बालबालिकाको शिक्षा प्राप्तिको अभियानमा सहयोग गर्ने उद्देश्यले संस्थाले ट्युसन सेन्टर सञ्चालन गरिएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए । ‘डाइनियामा ट्युसन सेन्टर सुरु गरेपछि रेस्पोन्स राम्रो आयो, त्यसपछि बढाउने निर्णय गर्यौँ,’उनले भने,‘बालबालिकाले नियमित पढ्न पाएका छन्, एउटा सेन्टरमा एक जनाका लागि सामान्य रोजगारी पनि सृजना भएको छ ।’

Back to top button