विराटनगरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, स्थानीयद्वारा ट्रकमा आगजनी

विराटनगर । विराटनगरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बरगाछी चोकस्थित बिहान ९: ४५ बजेतिर ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएपछि अहिले अवस्था तनावग्रस्त बनेको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ ।

दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर–४ का प्रल्हाद रायसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि केहीबेर कोशी लोकमार्ग अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी छेदीलाल कामती,वडा प्रहरी कार्यालयबाट डीएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट इन्सपेक्टर सुमन न्यौपानेको नेतृत्वमा खटिएको संयुक्त टोलीले लोकमार्ग खुलाएको छ । अहिले लोकमार्ग सुचारु रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Back to top button