क्यानडालाई ४ विकेटले हराउँदै नेपालले जित्यो सिरिज

काठमाडौं । क्यानडाविरुद्धको तीन म्याचको एकदिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । शनिबार कीर्तिपुर मैदानमा लगातार दोस्रो खेलमा जित निकाल्दै नेपालले क्यानडाविरुद्धको सिरिज हात पारेको हो ।

तीन म्याचको एकदिवसीय सिरिज नेपालले एक खेल अगावै जितेको हो । क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७६ रनको शानदार इनिङ्स खेलेपछि नेपालको जित सम्भव भएको हो । ओपनर अनिल साहले ५० रनको आक्रमक अर्धशतकीय इनिङ्स खेल्नुभयो । साहले २० बलमा ७ चौका र ३ छक्काको मदतले सो रन बनाउनुभएको थियो ।

अर्का ओपनर आसिफ शेख १० रनमा आउट भएपछि नेपालको इनिङ्स रोहित र देवले सम्हाल्नुभएको थियो । रोहित र देवले तेस्रो विकेटका लागि १ सय ५० रनको साझेदारी गर्नुभएको थियो। त्यही साझेदारी नेपालको जितको आधार बनेको हो ।

भिम सार्कीले २३ र पवन सरार्फले १४ रन बनाउनुभयो । कुशल मल्ल र सोमपाल कामी समान ९ रनमा अविजित रहनुभयो ।

यस्तै, क्यानडाका हर्ष ठाकर र इश्वरजोत सोहीले समान २ तथा साद बिन जफर र दिलप्रित बाजवाले समान १ विकेट हात पार्नुभयो ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो ।

नवनीत धालीवाल र आरोन जोनसनले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गर्दै क्यानडालाई राम्रो सुरुवात दिलाउनुभएको थियो । दुवैको उत्कृष्ट साझेदारीलाई डेब्यु खेलाडी आकाश चन्दले तोड्नुभएको थियो । उहाँले नवनीतलाई आशिफ शेखको हातबाट क्याच आउट गराउनुभएको थियो ।

जोनसनले ६५ र नवनीतले ४६ रन बनाउनुभयो । परगत सिंहले ३८ र निकोलस किर्टनले २० रनको योगदान गर्नुभयो । श्रेयश मोभाले ४०, दिलप्रीत बाजवाले १९ र उदय बागवानले नटआउट २० रन बनाउनुभयो ।

नेपालका रोहित पौडेल र कुशल मल्लले समान २ तथा सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सरार्फले समान १–१ विकेट लिनुभएको थियो ।

यस्तै, नेपालले सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ । डब्लूसीएल लिग टूको तयारी स्वरुप नेपालले क्यानडासँग तीन म्याचको एकदिवसीय सिरिज घरेलु मैदानमा खेलेको हो ।

Back to top button