भन्सारका कर्मचारीलाई कामकाज चुस्त बनाउनुन अर्थमन्त्री महतको निर्दे‍शन

विर्तामोड । अर्थमन्त्री डा.प्रकाशशरण महतले भद्रपुर भन्सार कार्यालयको निरीक्षण गर्नुभएको छ । आज बिहान झापा आउनुभएका अर्थमन्त्री डा.महतले नेपाल–भारत सीमा नाका भद्रपुरस्थित मेची पुलसँगै भन्सार कार्यालयको निरीक्षण गर्नुभएको हो । उहाँले भन्सारको वर्तमान विषय वस्तुको बारेमा जानकारी लिनुभएको थियो ।

निरीक्षणमा पुग्नुभएका डा.महतलाई यहाँका सरोकारवाला पक्षले भन्सारले अधिग्रहण गर्न लागेको जग्गाको बाँकी मुआब्जा रकम निकासा र भारततर्फको गलगलिया भन्सार कार्यालयको स्तोरन्नतिका लागि तत्काल पहल गरिदिन आग्रह गरेका छन् ।

छोटीबाट मूल भन्सारमा स्तोरन्नति गरिएको भद्रपुर भन्सारको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको मुआब्जा रकम कुल ६१ करोडमध्ये १० करोड रकम मात्र उपलब्ध भएकोले बाँकी रकम तत्काल निकासा गरिदिन अर्थमन्त्री डा.महतको ध्यानाकर्षण गराइएको भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिनुभयो । अर्थमन्त्रीले त्यसका लागि छिट्टै पहल गर्न आश्वासन दिएको उहाँले बताउनुभयो ।

यस्तै, निरीक्षण कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलसहित उद्योगी तथा व्यापारीहरूको सहभागिता रहेको थियो । भद्रपुर भन्सारको निरीक्षण पश्चात् अर्थमन्त्री डा.महत आन्तरिक राजश्व कार्यालय झापाको समेत निरीक्षण गर्दै कामकाजलाई चुस्त दुरुस्त बनाउन कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएको थियो ।

उहाँको मेची भन्सार कार्यालय काँकडभिट्टाको निरीक्षण र दमक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Back to top button