आज १६ दिन बस्ने गरी पूर्वराजा ज्ञानेन्द्र चितवन आउँदै

चितवन । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह आज चितवन आउने हुनुभएको छ । परिवारका अन्य सदस्यसहित चितवन आउन लाग्नुभएका पूर्वराजा १६ दिन चितवनमा बस्ने कार्यक्रम तय भएको छ ।

पटिहानीको सोल्टी होटलमा बस्ने पूर्वराजा ज्ञानेन्द्र नितान्त निजी भ्रमणका लागि चितवन आउन लाग्नुभएको हो । गत वर्ष पनि उहाँ पटिहानी आएर ८ दिन बस्नुभएको थियो ।

‘गत वर्ष ८ दिन बस्नु भएको थियो, यसपटक १६ दिनका लागि कोठाहरु बुक गरिएका छन्’, सोल्टी होटल स्रोतले भन्यो,‘उहाँको निजी भ्रमण हो, अरु भेटघाटका तालिका बनेको जानकारी छैन ।’ उहाँ जहाजबाट भरतपुर आउनुहुने छ । उहाँ चढ्ने सवारी साधानहरु भने यसअघि नै भरतपुर आइसकेका छन् ।

चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

फागुन ७ गते पूर्व रानी कोमलको जन्मदिन परेकोले पटिहानीमा नै जन्मदिन मनाउने तयारीसमेत पूर्व राजा शाहको छ । ३२ वटा कोठा बुक गरेकोले उहाँका आफन्तहरु र नजिकैका मानिसहरु पनि यसपटक पटिहानी आउने स्रोतले जनाएको छ ।

Back to top button