सुनसरीबाट झण्डै २ करोड नक्कली नोट बरामद, एक भारतीय नागरिक पक्राउ

विराटनगर । सुनसरीबाट ठूलो परिणाममा नक्कली नोट बरामद भएको छ । प्रहरीले नेपाली १ करोड ८२ लाख ५१ हजार रूपैयाँ बराबरको नक्कली नोट बरामद गरेको हो ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक आइतबार एउटा भारतीय स्कोरपियो गाडीलाई रोकेको थियो। शंकास्पद अवस्थाको बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेर खानतलासी गर्दा नक्कली नोटहरु बरामद भएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिनुभयो।

उहाँका अनुसार स्कोरपियोको पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याउँदै गरेको अवस्थामा १ हजार दरका नक्कली नोटहरु बरामद गरिएको हो । स्कोरपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रोक्नसाथ गाडीभित्र रहेका अर्का एक व्यक्ति फरार बनेका थिए। फरार रहेका व्यक्तिको खोजी जारी राखिएको एसपी रेग्मीले बताउनुभयो।

बरामद भएको रकम, स्कोरपियो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उहाँको भनाइ छ । उहाँका अनुसार भारतबाटै ठूलो परिणाममा नक्कली नोट छापेर नेपाल भित्र्याइएको हुनसक्ने अनुमान गरिएको छ। सुनसरी प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर यस विषयमा विस्तृत जानकारी दिने तयारी गरेको छ ।

Back to top button