कांग्रेसबाट धोका भयो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसबाट आफूहरुले धोका पाएको बताउनुभएको छ ।

जारी माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको बताउनुभएको हो ।

बैठकमा उहाँले भन्नुभयो,‘कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ। हामी इमान्दार भयौँ। गठबन्धनबाट जहिले नै धोका भइरहेको छ।’

केन्द्रीय कमिटीको बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै कोशी प्रदेशमा कांग्रेसबाट भएको धोकालाई गम्भिर रूपमा लिएको उहाँले बताउनुभयो ।

‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो। तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

सो क्रममा प्रचण्डले आफू नेतृत्वको सरकारले गरेको काम कारबाहीका साथसाथै वर्तमान सत्ता गठबन्धनको विषयमा समेत धारणा राख्नुभएको छ।

Back to top button