केन्द्रीय कमिटिको बैठकमा प्रचण्डले भन्नुभयोः पार्टीको नाम केही होइन, काम ठूलो हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नामले मात्रै केही नहुने भन्दै केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनका लागि तयार हुन निर्देशन दिनुभएको छ ।

हिजो सुरु भएर आज सकिएको केन्द्रीय समिति बैठकमा उहाँले सम्बोधन गर्दै माओवादीको पहिचान नामले भन्दा पनि कामले गर्दा रहेको तर्क गर्नुभएको हो ।

‘हाम्रो पहिचान बाँकी रहेको माओवादी नामले नै हो भनिन्छ, तर नाम होइन काम ठूलो हो’, प्रचण्डले बैठकमा भन्नुभयो,‘नामले मात्र केही हुँदैन, काम अनुसार पार्टीको नाम चाहिन्छ ।’

प्रचण्डले अब जातिय र क्षेत्रिय मोर्चालाई पूनर्जिवित गरी संगठित आन्दोलन गर्ने र पहिचानको मुद्दालाई सशक्त रुपमा उठाउने बताउनुभयो ।

साथै, उहाँले माओवादीको पार्टी पंक्तिले थाहै नपाइकन वर्ग छाडेको स्वीकार गर्नुभएको छ । ‘हामीले थाहा नै नपाइकन वर्ग छाडेको साँचो हो’, उहाँले भन्नुभयो ।

अबको अभियान आन्दोलनको रुपमा हुने भन्दै उहाँले तराई मधेस केन्द्रित र जागरण अभियान चलाउने बताउनुभयो । उहाँले मधेस र सहरी क्षेत्रमा पार्टीले धेरै कमजोरी गरेको भन्दै यी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने बताउनुभयो ।

उहाँले अब माओवादी समाजवादी दिशातर्फ केन्द्रित भएको भन्दै आठौँ महाधिवेशनको समाजवादी दिशा बमोजिम नै अहिले विधान बनाएको दावी समेत गर्नुभएको छ ।

प्रचण्डले फागुन पहिलो साता विधान महाधिवेशन सकिएपछि विशेष महाविधेशनको तयारीमा लाग्न समेत कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Back to top button