ट्रकमा आगजनी भएको घटनाप्रति महासंघको ध्यानकर्षण, कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आईतवार विराटनगरमा सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव राजेन्द्रविक्रम बाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना भवितव्य भएको र दोषी उपर कानूनी कारवाही हुने व्यवस्था हुँदाहुँदै पनि ट्रकमा आगजनी गरिनु दुःखद भएको उल्लेख गर्नुभएको छ ।
दुर्घटनापछि एक व्यक्तिको मृत्यु भएको र दुर्घटना गराउने सवारीचालकलाई कारवाहीकालागि प्रहरीले नियन्त्रणमा लिईसकेको अवस्थामा पनि प्रहरी प्रशासनकै अगाडि अराजक शैलीमा भएको तोडफोड र आगजनीको घटनाप्रति महासंघले भर्त्सना गरेको छ ।

महासचिव बाँनियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा दुर्घटना भन्ने कुरा मानिसको काबु भन्दा बाहिर रहेको हुँदा ऐन कानून हातमा लिएर गरिएको आगजनीबाट भएको क्षतिको क्षतिपूर्ति पनि सम्बन्धित व्यक्तिबाट पूर्ति गर्न माग गरिएको छ । आईतबार बिहान धरान–विराटनगर सडकखण्ड अन्तर्गत विराटगरको बरगाछीमा बा.प्र.३–००१ख १४११ नम्बरको ट्रकको ठक्करबाट को ३६ प २८८९ नम्बरको स्कटीमा सवार सुनसरी दुहवीका एक व्यक्तिको मृत्यु भएको थियो ।

घटनापछि जम्मा भएको आक्रोशित भिडले ठक्कर दिने ट्रकमा आगजनी गरेको थियो । आगजनीबाट ट्रकको अगाडिको भाग जलेर पूर्णरुपमा क्षति भएको छ ।
यसैबीच नेपाल ट्रक यातायात व्यवशायी महासंघले आगजनीको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । दुर्घटना गराउने चालकलाई आवश्यक कारवाहीकालागि नियन्त्रणमा लिईसकेको अवस्थामा ट्रकमा आगजनी गर्नेहरुलाई कारवाही नगरे देशभरका ट्रकका साँचो सरकारलाई बुझाएर ट्रक ग्यारेजमा थन्काउने महासंघले चेतावनी दिएको छ ।

Back to top button