मोरङमा आगलागी हुँदा ८० लाख बढीको क्षति

विराटनगर । मोरङका अलगअलग स्थानमा गएराति आगलागी हुँदा ८० लाखभन्दा बढीको क्षति भएको छ । सुनवर्षी र कानेपोखरीका दुईवटा घरमा आगलागी भएको हो ।

सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा राति ८ः३० बजेतिर आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ । आगोले घरसहित घरमा रहेको ३ लाख नगद, ४ तोला सुन, अन्नपात, लत्ताकपडा, फर्निचरका सामानलगायत जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । आगोले २ तले पक्की घर पूर्णरूपमा जलेको छ ।

घटनामा मानवीय र चौपाया क्षति भने भएन। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।

यस्तै, कानेपोखरी गाउँपालिका–२ बहत्तरबिघेस्थित अर्जुन विष्टको घरमा राति ११ः५५ बजेतिर आगलागी भएको छ । आगोले ४ कोठे पक्की घरसहित लत्ताकपडा, काठपात, ६ तोला सुन, १८ हजार नगद, ६५ मन धान, ग्वाली, एउटा खसी र ६ वटा बाख्रा जलेको छ ।

आगालागीमा ३१ लाख १८ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीमा २० लाख बराबरको घर, ७ लाखको सुन, १ लाखको धान, ३ लाखको ग्वाली तथा ३० हजार बराबरको खसीबाख्रा जलेको पाइएको छ ।

प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Back to top button