विराटनगरमा शंकास्पद वस्तु फेला, २ जना पक्राउ

विराटनगर । विराटनगरमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । विराटनगर महानगरपालिका–३ मा प्रेसर कुकरमा टेपले बाँधेर राखेको अवस्थामा उक्त वस्तु फेला परेको हो ।

आँपको रुख र एउटा घरको बीचमा हिजो साँझ उक्त वस्तु फेला परेको थियो । घटनास्थललाई प्रहरीले रातभर सुरक्षा दिएको थियो । घटनास्थल वरपर मानिस आवतजावतमा रोक लगाइएको छ ।

शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै छ । सेनाको टोलीसँग समन्वय गरेर डिस्पोजको तयारी गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी छेदीलाल कामतीले जानकारी दिनुभयो । सेनाले डिस्पोज गरिसकेपछि उक्त वस्तु बम हो कि हैन भनेर यकिन हुने उहाँले बताउनुभयो।

निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहले शंकास्पद वस्तु राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरु यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट आवद्ध रहेको खुलेको छ। उनीहरुको पूरा विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

विप्लव समूहबाट अलग भएर विद्यालयलगायतमा चन्दा आतंक मच्चाइरहेको पाइएको प्रहरी स्रोतले बतायो । घटनास्थलमा ‘आर्थिक सहयोग गरिदिनु हुन’ भनेर लेखिएको पर्चा पनि फेला परेको छ । मोरङ प्रहरीले आज बिहान पत्रकार सम्मेलन गरेर यस विषयमा विस्तृत जानकारी दिने तयारी गरेको छ।

Back to top button