माओवादी केन्द्रको पहिलो विधान सम्मेलन जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पहिलो विधान सम्मेलन सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रज्ञाभवन काठमाडौंमा विधान सम्मेलनको मैनबत्ती बालेर उद्घाटन गर्नुभएको हो ।

तीन दिनसम्म चल्ने सम्मेलनले माओवादी केन्द्रको विधान संशोधन गर्नेछ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैर भौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारी सहभागी छन्।

माओवादीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो। कार्यदलले गत माघ १ गते पार्टी अध्यक्ष प्रचण्डलाई विधान मस्यौदाको प्रस्ताव बुझाएको थियो ।

माओवादीले मस्यौदा तल्ला कमिटीमा पठाएर सुझाव लिएको थियो। त्यस क्रममा देशभरका कार्यकर्ताले तल्लो कमिटीदेखि केन्द्रीय पदाधिकारीसम्म प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुन्नुपर्ने सुझाव दिएका थिए। समितिले बुझाएको विधानमाथि माघ २६ र २७ गते भएको पार्टीको स्थायी कमिटी बैठकमा छलफल भएको थियो।

शीर्ष नेतृत्वले हालसम्म आफूनिकट व्यक्तिलाई टीका लगाइदिएर नेता बनाउँदै आएका छन् । जसको कडा विरोध कार्यकर्ताले गरेका हुन्। ‘टिके प्रथा’ले पार्टीमा गुटगत हाँगाबिंगा फैलिँदै गएको उनीहरूको भनाइ छ। त्यसले भुइँतहमा काम गर्ने इमानदार, क्षमतावान र निष्ठावान नेता ओझेलमा परेको सुझाव उनीहरूले पार्टीलाई दिएका छन्।

विधान मस्यौदा समितिमा सदस्य पार्टी एवं उपमहासचिव जनार्दन शर्माले पार्टी रूपान्तरणका लागि कार्यदलमा ४ फरक प्रस्ताव पेश गर्नुभएको थियो । तर, कार्यदलमा रहेका अन्य नेताले उहाँको कुरा सुनेनन्। त्यसपछि उहाँले विधान मस्यौदा छलफलमा फरक ४ मत राख्नुभएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट पार्टीका सबै तहमा चुनाव हुनुपर्ने र संगठनलाई उनीहरूको योजनाअनुरूप चल्न दिनुपर्ने उहाँले उठाएका मुख्य एजेन्डा थियो। स्थायी समितिमा शर्माले पेस गरेको प्रस्तावका कारण माओवादीभित्र तरंग उत्पन्न भएको थियो ।

विधान अधिवेशनमा पेस गर्ने प्रस्तावित मस्यौदा विधानमा सहमति जुटाउन सोमबार र मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा पनि मतभेद कायमै छ।

Back to top button