एमाले दैलेखमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा शाही

दैलेख । नेकपा (एमाले) दैलेखको नयाँ नेतृत्व चयन भएको छ । एमाले जिल्ला कमिटी दैलेखको आठौँ जिल्ला अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो। निर्वाचन कमिटीले सार्वजनिक गरेको विवरण अनुसार एमाले दैलेखको अध्यक्षमा चामुण्डाविन्द्रासैनी नगरपालिका–६ निवासी सूर्यबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ ।

उहाँ सातौँ जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो । त्यसबेला अध्यक्षमा रविन्द्रराज शर्मासँग पराजित हुनुभएका शाही आठौँ अधिवेशनमा निर्विरोध निर्वाचित हुनुभएको हो । तत्कालीन जिल्ला विकास समितिको उपसभापति भइसक्नुभएका शाही २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगर प्रमुखमा पराजित हुनुभएको थियो ।

शाही दैलेखी कम्युनिष्ट आन्दोलनको पुरानो नेता हो भने राष्ट्रिय भूमि आयोग दैलेखका पूर्व अध्यक्ष हो । यस्तै, एमाले दैलेखको उपाध्यक्षमा भैरवी गाउँपालिका–७ का प्रेमबहादुर बुढा निर्विरोध निर्वाचन हुनुभएको छ । उहाँ सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । केही समय अघिदेखि एमाले दैलेखको कार्यवाहक अध्यक्ष रहनुभएका बुढा दोस्रो पटक पनि उपाध्यक्षमै बस्न राजी हुनुभएको हो ।

निर्वाचन कमिटीका अनुसार एमाले दैलेखको नवनिर्वाचित कमिटीको सचिवमा हिमालय जंग शाह निर्विरोध निर्वाचित हुनुभएको छ । शाह डुङ्गेश्वर गाउँपालिका–५ निवासी हो । यस्तै उपसचिव महिलामा नारायण नगरपालिका–९ की तारा कुमारी सोनी र उपसचिव खुलातर्फ महाबु गाउँपालिका–३ का मिनबहादुर बुढा क्षेत्री निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन कमिटीका अनुसार खुला र भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन्।

Back to top button