माल्दिभ्स १३ रनमै अलआउट, नेपालको कीर्तिमानी जित

काठमाडौं । नेपालका २ ब्याटर रुविना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङ्गमा नेपालले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमानी जित हात पारेको छ । मलेसियाको बाँगीमा जितका लागि २ सय २८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २ सय १४ रनको कीर्तिमानी जित हात पारेको हो ।

जितको लागि २ सय २८ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३ दशमलव ५ ओभरमा १३ रनमा अल आउट भयो । माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक ५ रन बनाउनुभयो ।

माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए । यो नेपालको महिला टी–२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि २०२१ मा कतारविरुद्ध ११९ रनको जित नै सर्वाधिक ठूलो अन्तर थियो ।

नेपालको जितमा अश्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिनुभयो । पूजा महतोले ३ ओभरमा २ मेडनसहित २ रन खर्चेर ३ विकेट लिनुभयो । रुविना क्षेत्रीले ३ दशमलव ५ ओभरमा २ रन खर्चेर ३ विकेट लिनुभयो ।

त्यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । नेपालकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासेले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको अविजित शतकीय इनिङ खेल्नुभएको थियो । पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिनुभयो ।

पाँचौं विकेटका लागि रुविना र पूजाले ८२ बलमा १ सय ६६ रनको अविजित साझेदारी गर्नुभएको थियो । रुविना नेपालबाट महिला कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी समेत बन्नुभएको छ । नेपालले महिला टी–२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो । यसअघि २०२१ नोभेम्बरमा तेस्रो महिला टी–२० आई खेलमा कतारविरुद्ध नेपालले १ सय ६४ रन बनाएको थियो ।

नेपालकी ओपनर कविता कुँवर १३, सीतारानामगर १५, इन्दु बर्मा डक र डली भट्ट ६ रनमा आउट हुनुभयो । माल्दिभ्सकी शम्मा अलीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिनुभयो । नब्बा बिन्थु नसिमले १ विकेट लिनुभयो । नेपालले यसअघि भुटान र हङकङलाई समान ८ विकेटले हराएको थियो ।

नेपाल समूह डी बाट ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्नेछ ।

हङकङ ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ । क्वाटरफाइनल, सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले यस वर्ष हुने महिला टी–२० एसिया कप खेल्न पाउनेछन् ।

समूह ए मा थाईल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । कुवेत ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमाछ । थाईल्यान्डको नेटरनरेट प्लस ५ दशमलव ७२९ र कुवेतको माइनस ० दशमलव ५१४ छ ।

यस्तै, थाइल्यान्ड र सिंगापुरबीच खेल जारी छ । जितको लागि १६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुरले १० ओभरमा ५ विकेट गुमाउँदै ४४ रन बनाएको छ । यो खेल थाईल्यान्डले हार्दा पनि समूह विजेता बन्ने पक्का छ । त्यसैले क्वाटरफाइनलमा नेपाल र कुवेत भिड्ने भएका हुन् ।

Back to top button