गोली हान्ने र टाउकाको मूल्य तोक्ने सरकारमा हुँदा पनि सङ्क्रमणकालीन न्याय किन टुङ्गिएन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय १८ वर्षसम्म नटुङ्ग्याएर पीडित माथि अन्याय गरिएको बताउनुभएको छ ।

आज मानवअधिकार एलाइन्सले आयोजना गरेको मानव अधिकार रक्षकहरूको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हिंसा मच्चाउनेहरू १८ वर्ष अघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै आपत्ति जनाउनुभयो ।

‘टाउकामा बम, गोली हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा छन्, सङ्क्रमणकालीन न्यायको काम किन नटुङ्ग्याएको?’ भन्दै उहाँले प्रश्न गर्नुभयो।

आफू सरकारमा रहँदा सङ्क्रमणकालीन न्याय टुङ्ग्याऊँ, पीडितलाई न्याय दिऊँ भनेर लागेको भएपनि उहाँहरूले बेवास्ता गरेको ओलीले बताउनुभयो। ‘उहाँहरूलाई नचाहिँदासम्म वास्ता गर्नुहुन्न, चाहिएपछि भोली नै टुङ्ग्याउनु पर्‍यो, पर्सिनै टुङ्ग्याउनु पर्‍यो भन्नुहुन्छ’, ओलीले भन्नुभयो ।

अहिले पनि सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्ग्याउनु पर्छ भनेर एमालेले भनिरहेको उहाँले बताउनुभयो । तर,पीडितलाई अन्याय हुने गरी यो विषय टुङ्ग्याउन नसकिने उहाँले प्रष्ट पार्नुभयो । पीडित माथि मेरो सहमति छ भनेर जबरजस्ती हस्ताक्षर गराउन नमिल्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले पहिला सत्य निरूपण गरेर त्यस पछि मात्र त्यसको निरूपण गर्नुपर्नेमा जोड दिनुभयो। पीडितलाई चित्त बुझ्ने गरी अन्तराष्ट्रिय मान्यता अनुसार सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनु पर्ने अध्यक्ष ओलीको धारणा छ ।

नेपालले हिंसाको अति जटिल अवस्था पार गरेर आएको ओलीले बताउनुभयो । ंहिंसा किन भयो, कसका लागि भयो कसैले पुष्टि गर्न सकेको छैन’, उहाँले भन्नुभयो।

शान्तिपूर्ण ढङ्गले सरकारमा पुगेर देश र जनताको पक्षमा काम गर्न सकिने अवस्था हुँदा हुँदै माओवादीले हिंसात्मक आन्दोलन सुरु गरेको ओलीको धारणा छ। ‘हिंसा बिसाएर फेरी आउनु पर्‍यो, हिंसा बिसाएर त्यही प्रणालीमा आउँदा केमा फरक परेको थियो’,उहाँले भन्नुभयो ।

माओवादीले २०५२ बाट सुरु गरेको हिंसा २०६३ सालमा छाडेर आउँदा चुनाव नलडी भाग लिएर माओवादी संसद् र सरकारमा पुगेको ओलीले बताउनुभयो। त्यही व्यवस्थामा सत्तामा पुग्न १७ हजार मानिस किन मारिए भन्ने कुराको जवाफ माओवादीले दिन नसकेको ओलीले टिप्पणी गर्नुभयो ।

माओवादीको हिंसाकै कारण विदेश जाने लहर सुरु भएको ओलीले बताउनुभयो । द्वन्द्वको बेला हिंसात्मक पक्ष र राज्य पक्ष दुवैले मानिसको क्रूर किसिमले हत्या गरेको उहाँको भनाइ छ । जम्मा सत्ता, सरकार र सांसद लिनको लागि माओवादीले देश ध्वस्त बनाएको उहाँले टिप्पणी गर्नुभयो ।

मानव अधिकार उलङ्घनकर्ताले आफ्ना कमजोरी लुकाउन अनेक कुरा गर्ने बताउनुभयो। त्यसका विरुद्ध निर्भीकताका साथ लड्ने साहस चाहिने उहाँले बताउनुभयो । नेपालका मानव अधिकारकर्मी त्यो आँटका साथ अघि बढेका भन्दै ओलीले प्रशंसा गर्नुभयो ।

नेकपा एमालेको नीति राजनीतिक हितका लागि अरू कुनै पनि मानवीय, संवैधानिक, कानुनी अधिकार उल्लङ्घनको गर्ने नरहेको उहाँले प्रष्ट पार्नुभयो । ‘नेकपा एमालेले मानव अधिकार उलङ्घन गर्दैन, मानव अधिकार उल्लङ्घनको पक्षमा उभिँदैन, मानव अधिकारको उलङ्घनकर्तालाई संरक्षण गर्दैन’, उहाँले भन्नुभयो ।

एमालेको मानव अधिकार संरक्षणको पक्षमा एक्यवद्धता रहेको ओलीले प्रष्ट पार्नुभयो । ‘हामी सधैँभरि तपाईँहरूको साथमा छौँ’, ओलीले भन्नुभयो ।

नेपाली जनताको शान्तिको चाहनाले हिंसा र मानव अधिकार उलङ्घनको कहालीलाग्दो अवस्थालाई अन्त्य गरेको ओलीले बताउनुभयो ।

विविधतामा एकता नै नेपालको पहिचान भएको ओलीले बताउनुभयो । एकताबद्ध भएर नेपाललाई शान्तिपूर्ण, विकासको बाटोमा अघि बढेको, मानव अधिकार सहितको राष्ट्रको रूपमा अघि बढाउनु पर्ने उहाँले प्रष्ट पार्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको लक्ष प्राप्त गर्नका लागि सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानु पर्ने ओलीको धारणा छ ।

Back to top button