क्यानडासँग उत्कृष्ट प्रदर्शन गर्ने साह र खनाल राष्ट्रिय टोलीमा

काठमाडौं । ओपनर अनिल साह र यु–१९ का कप्तान देव खनाल आइसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि टोलीमा समेटिनुभएको छ ।

घरेलु मैदानमा भोलिदेखि सुरु हुने आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा क्यानडासँगको ३ ओडीआई खेलमा शानदार प्रदर्शन गर्नुभएका साह र खनालको पनि नाम आएको हो।

क्यानले आज जारी गरेको सूचीमा शाह र खनालको पनि इन्ट्री भएपछि यसअघि घोषणा भएको टोलीबाट विकेटकिपर अर्जुन साउद र रिजन ढकाल बाहिरिनुभएको छ ।

नेपालको टोलीमा क्यानडासँग सिरिजमा नभएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झालगायत हुनुहुन्छ । ऐरी हाल यूएईमा चलिरहेको आइएलटी–२० मा गल्फ जायन्टसबाट खेलिरहनुभएको छ ।

नेपालले भोलि बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । २१ फेब्रुअरीमा नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्ने कार्यतालिका छ।

लगत्तै क्यानले नामिबिया र नेदरल्यान्ड्ससँग नै त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने कार्यतालिका बनाएको छ ।​

Back to top button