कांग्रेसले अब चुनावी गठबन्धन गर्नुहुँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा अन्य राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्न सुझाव दिनुभएको छ ।

हिजोदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा नेता कोइरालाले अहिलेको निर्वाचन प्रणाली परिवर्तन गरिएन भने कुनै पनि दलले बहुमत ल्याउने संभावना नरहेकाले चुनावी गठबन्धन गर्न नहुने सुझाव दिनुभएको हो ।

नेता कोइरालाले संविधान संशोधन गरेर निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । यसका लागि कांग्रेसले पहल कदमी लिनुपर्ने उहाँको भनाइ छ ।

‘हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन । अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिदैन । तसर्थ संविधान संशोधनमार्फत् निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागि नेपाली कांग्रेसले पहल गर्नुपर्छ।’

नेता कोइरालाले देशमा व्याप्त भ्रष्टाचार र आर्थिक अनुशासनहिनता बढेको भन्दै भ्रष्टाचारलाई कडाइकासाथ नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरू गठबन्धनको छाँया परेको हो कि जस्तो देखियो टिप्पणी गर्नुभयो । महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो तर, त्यसो नदेखिएको उहाँको भनाइ छ ।

विधान लोकतान्त्रिक पार्टीको मेरुदण्ड भएको बताउँदै उहाँले कांग्रेस पार्टीको विधानमा धेरै त्रुटीहरू रहेका कारण सांगठनिक गतिविधिमा बाधा आइरहेको औंल्याउनुभयो । यो महासमितिको बैठकले ‘विधान संशोधन मस्यौदा समिति’ बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो ।

नेता कोइरालाले पछिल्लो समय निर्वाचित जनप्रतिनिधिबीच समस्या चुलिदै गइरहेको भन्दै त्यसलाई समन्वय गर्न पार्टी तहमै स्थायी सयंन्त्र निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

Back to top button