सन्सारी माईस्थानमा विराटनगर महानगरद्वारा डिप बोरिङ जडान

विराटनगर । विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ विराटनगरको मध्ये भागमा रहेको सन्सारीमाईस्थानमा डिप बोरिङ जडान गरेको छ ।

सुख्खा मौसममा आगलागीका घटना बढी हुने र समयमा वारुणयन्त्र (दमकल) पुग्न नसक्दा क्षती बढी हुनेभएकाले त्यसको सहजताका लागि डिप बोरिङ जडान गरेको हो ।

बजार क्षेत्रमा आगलागी हुँदा पनि पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यतालाई हटाउन डिप बोरिङ जडान गरिएको मेयर नागेश कोइरालाले बताउनुभयो । यसले आगलागी नियन्त्रण गर्न निकै सहज हुने विश्वास ब्यक्त गर्दै मेयर कोइरालाले महानगरका अन्य क्षेत्रमा पनि डिप बोरिङ जडान गरिने बताउनुभयो ।

यसअघि पुष्पलाल चोक र महानगर परिसरमा मात्रै डिप बोरिङ जडान गरिएको थियो । सन्सारीमाईस्थानको डिप बोरिङबाट ५ हजार लिटर क्षमताको दमकल भर्न २० मिनेट लाग्नेछ ।

पुष्पलाल चोकको डिप बोरिङबाट ५ हजार लिटरको दमकल भर्न ५ मिनेट र महानगर परिसरमा रहेको डिप बोरिङले दमकल भर्न ३५ मिनेट लाग्ने गरेको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो ।

बजार क्षेत्रमा आगलागी हुँदा दमकलमा पानी भर्न निकै समस्या भएकाले सन्सारीमाईस्थानको खाली जमिनमा डिप बोरिङ जडान गरिएको पौडेलले बताउनुभयो ।

बजार क्षेत्रमा लागलागी भएमा पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यताका कारण बढी क्षति हुने गरेको थियो । महानगरले छिट्टै नै विराटनगर–१४ मा पनि डिप बोरिङ जडान गर्ने तयारी गरेको छ ।

Back to top button