नेपालसँग नेदरल्याण्ड्स १ सय ३७ रनमा अलआउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १ सय ३८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १ सय ३७ रनमा अलआउट भएको हो ।

नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिनुभयो । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो । नेदरल्याण्ड्सका २ जना रन आउट भए ।

बिहानीको सत्रमा ब्याटिङ गर्न कठिन मानिने त्रिविको विकेटमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहितकुमार पौडेलले निर्णयलाई सही सावित गर्दै ओपनर बलर सोमपाल कामीले तेस्रो बलमा नै विकेट लिनुभएको थियो ।

खाता नै नखोली माइकल लेभिटलाई गुमाएपछि नेदरल्याण्ड्सले नेपाली बलर सामु खुलेर खेल्न पाएन । अर्का ओपनर म्याक्स ओडाउड व्यक्तिगत १० रनमा रनआउट हुनुभयो ।

स्याब्रान्ड एंगेलब्रेक्टले इनिङ सम्हाल्ने प्रयास गरे पनि उहाँ व्यक्तिगत २३ रनमा ललित राजवंशीको बलमा अनिल साहबाट क्याच आउट हुनुभयो । उहाँले तेस्रो विकेटका लागि बास डि लिडेसँग ३८ रनको साझेदारी गर्नुभएको थियो । लिडे २७ रन बनाउँदै ललितकै बलमा बोल्ड हुनुभयो ।

त्यसपछि कप्तान स्कट एडवाड्रसले ३३ रन बनाउनुभयो । उहाँ कुशल भुर्तेलको एलबीडब्लू धरापमा पर्नुभयो । नवौं विकेटका रुपमा उहाँ आउट हुँदा नेदरल्याण्ड्सको स्कोर बोर्डमा १ सय २७ रन थियो । थप १० रन जोड्दा भिभियन किंग्माको विकेट लिँदै भुर्तेलले नेदरल्याण्ड्सलाई अलआउट गर्नुभयो ।

Back to top button