विराटनगरमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता सुरु

विराटनगर । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

आज भएको उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएका छन् । पहिलो खेलमा आर्दश स्कुलले गोग्राह स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गोग्राहले निर्धारित २० ओभरको खेलमा १२ ओभरमा सवै विकेट गुमाई ६२ रनमा सिमित भयो । जस्मा आशिषकुमार इसारले सर्वाधिक ३१ रन बनाउनुभयो । आर्दशका म्यान अफ द म्याच प्रशान्त कुशैयतले ४ विकेट लिनुभयो ।

६३ रनको सामान्य लक्ष्य पछ्याएको आर्दशले ७ ओभरमा ४ विकेट गुमाई विजयी लक्ष्य पार गरेको छ । जस्मा प्रभास यादवले सर्वाधिक १६ रनको योगदान दिनुभयो । गोग्राहाका अरविन्द मण्डलले ३ विकेट लिनुभयो ।

दोस्रो खेलमा न्यू मून स्कुलले नमुना विद्या मन्दिरलाई २२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यू मूनले निर्धारित २० ओभरको खेलमा १५ औं ओभरमा सवै विकेट गुमाई ६२ रनको योगफल तयार पारेको थियो । जस्मा रियाज आलमले सर्वाधिक १४ रनको योगदान दिनुभयो । नमुनाका राजिव कामतले ३ विकेट लिनुभयो ।

६३ रनको विजयी लक्ष्य पाएको नमुना १६ औं ओभरमा सवै विकेट गुमाई ४० रनमा सिमित भयो । नमुनाका कुनै ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । न्यू मूनका म्यान अफ म्याच सहवाज आलमले ५ विकेट लिनुभयो ।

फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरका १६ स्कुल सहभागी रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबुले बताउनुभयो ।

Back to top button