मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारवाही गर्न माग गरेको छ ।

ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले भौतिक मन्त्रीकै कमजोरीका कारण घटना घटेको निष्कर्ष निकाल्दा पनि कारवाही नगरेको भन्दै एमालेले मन्त्री ज्वालालाई तत्काल बर्खास्त गरेर कारवाही गर्न माग गरेको हो ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीका कारण उक्त घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा एक मिनेट पनि मन्त्रीलाई पदमा बसिरहन नैतिकताले नदिने बताउनुभयो।

‘बाललकुमारी घटनाको सरकारी प्रतिवेदनले भौतिक मन्त्रीकै लापरवाहीले उक्त घटना घटेको निष्कर्श निकाल्दासम्म कारवाही गरिएको छैन । हामीले मन्त्रीलाई बरखास्त गरेको सूचना पाएका छैनौं । सिपाहीहरूलाई कारवाही डण्डा,मन्त्रीहरूलाई झण्डा यो कुन खालको विधिको शासन हो,’उहाँले भन्नुभयो।

भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित इपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । सोही प्रदर्शनका क्रममा दुईजना युवकको मृत्यु भएको थियो ।

Back to top button