बालकुमारी घटनाबारे प्रधानमन्त्रीको जवाफः प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको बताउनुभएको छ । जाँचबुझ आयोगको प्रतिवेदन आफूले बुझेपछि अध्ययन गरेर कारबाही गर्ने उहाँले बताउनुभयो ।

दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो, जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत जिम्मेवार मानिएको छ ।

आज संसदको बैठक सुरु भएलगतै प्रमुख प्रतिपक्षी नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले समेत प्रश्न उठाउनुभएको थियो । मृतकका परिवारलाई १० लाख रुपैयाँ दिएर सरकार चुप बसेको लामिछानको आरोप थियो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भने १० लाख दिएर चुप बसेको भन्ने गलत भएको बताउनुभयो । सरकार गम्भीर भएर नै घटनामा संलग्नहरुलाई निलम्बन गर्नुका साथै छानबिन प्रक्रिया अगाडि बढाएको भन्दै उहाँले भन्नुभयो,‘१० लाख दिएर चुप लागेर बसेको भन्ने गलत हो । छानबिन प्रतिपक्षले बनाएको होइन होला, मेरै प्रस्तावमा बनेको हो ।’

आयोगको प्रतिवेदन आजै आफूले बुझ्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले अघि भन्नुभयो,‘अहिलेसम्म मैले हरेको छैन । आज क्याबिनेट बस्दैछ, अध्ययन गरेपछि कारबाही गरिन्छ ।’

उहाँले पीडित परिवारका एक–एक जनालाई रोजगारी दिने निर्णय पनि गरेको बताउनुभयो । श्रम मन्त्रालयले पनि सम्बन्धित अफिसबाट थप रकम दिन निर्देशन दिएको जानकारी पनि उहाँले दिनुभयो ।

Back to top button