राष्ट्रपतिद्वारा शालीनदीमा पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा गइ पूजा, अर्चना गर्नुभएको छ । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी हुनुभएको हो।

त्यस अवसरमा उहाँले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गर्नुभयो । साथै उहाँले शालीनदीमा जल अभिषेक गर्नुभएको छ । उहाँले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गर्नुभयो।

नगरपालिका एवं काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुगेका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुसीको विषय भएको बताउनुभयो।

बज्रयोगिनी मन्दिर पुग्दा शङ्खरापुर–८ का वडाध्यक्ष पोते थिङ र वडा नं ४ का वडाध्यक्ष सुनबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गर्नुभएको थियो। उहाँले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवं ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो।

त्यस अवसरमा सांसद र नगरप्रमुख एवं उपप्रमुखलगायत जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुनःनिर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरेका थिए। उनीहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुनःनिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे।

Back to top button