राससको वार्षिकोत्सव समारोह–उत्कृष्ट  जिल्ला समाचारदाता दाहाल पुरस्कृत 

विराटनगर । राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा मोरङका जिल्ला समाचारदाता मनोज दाहाल उत्कृष्ट समाचारदाताको रुपमा पुरस्कृत हुनु भएको छ ।
२० हजार रुपैयाँको उक्त पुरस्कार कोशी प्रदेश  आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले प्रदान गर्नुभएको छ । उहाँले कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय समाचार समिति(रासस)ले यस प्रदेशमा बोलिने राष्ट्रिय भाषामा समाचार प्रकाशन गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
राज्यमन्त्री गुरुङले प्रदेशमा धेरै मानिसले बोलिने थप मातृभाषाको समाचार प्रशारणमा प्रदेश सरकारले सहयोग उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त्त गर्नुभयो । उहाँले जनताका समस्या सरकारलाई र सरकारका सेवा र सूचना जनतासमक्ष पुर्‍याउने राससले पुलको काम गरेको भन्दै  पिछडिएका एवं गरिबी रेखा मुनिरहेका नागरिकको समाचारलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो ।
राज्यमन्त्री गुरुङले प्रदेश सभामा सदस्यहरुले उठाएका जनताका मुद्दाहरु राससले प्राथमिकताकासाथ सम्प्रेषण गरिरहेको बताउँदै सङ्घीयता कार्यान्वयन एवं मुलुकको विकास र समृद्धिमा राससले महत्वपूर्ण भूमिका निर्वाह गरिहेको चर्चा गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष  बिक्रम लुइटेलले राससले सम्प्रेषण गर्ने समाचारबाट राज्य र जनता दुबैलाई लाभ भइरहेको बताउनुभयो । उहाँले राससले आफ्ना सेवा विस्तार गर्दै अघि बढिरहेको भन्दै राससलाई अझ सुदृढ गर्दै लैजानु पर्ने सुझाव दिनुभयो ।
रासस कोशी प्रदेशका प्रमुख मोहम्मद सदरुलले राससले इतिहासको अभिलेखीकरण, चेतनाको विकास, सभ्यता र संस्कृतिको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष यज्ञप्रसाद शर्मा, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव विक्रम लुईंटेल, नेपाल प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदित, प्रेस चौतारी नेपालका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्ट, चौतारीका मोरङ जिल्ला अध्यक्ष सुदिप कोइराला र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष तारा आचार्य लगायतको उपस्थिती थियो ।

Back to top button