कार्यक्रममा प्रवेश गर्न नदिएपछि पत्रकारले गरे क्यामेरा डाउन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारहरूलाई प्रवेश नदिइएपछि उनीहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् ।

आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा रिपोर्टिङका लागि गएका पत्रकारहरूलाई प्रवेश नदिइएपछि उनीहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन ।

सूचना तथा प्रसारण विभागको कार्डले समेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गर्दै क्यामेरा डाउन गरेका थिए । समारोहको निमन्त्रण पास भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको थियो ।

सो समारोहमा राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,प्रधानन्यायाधीश,सभामुखसहितको सहभागिता रहेको थियो । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भइ नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा दिवस मनाउन थालिएको हो ।

Back to top button