समितिले लिएको लेभल-२ को परीक्षा निष्पक्ष नभएको युनियनको आरोप

विराटनगर : राष्ट्रिय सौन्दर्यकर्मी युनियन , नेपाल विराटनगर महानगर कमिटीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) अन्तर्गतको राष्ट्रिय सीप परिक्षण समितिले सञ्चालन गरिरहेको सौन्दर्यकर्मीहरूको परीक्षा निष्पक्ष र व्यवस्थित नभएको आरोप लगाएको लगाएको छ ।

आज नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गर्दै युनियनले विराटनगरको प्राइम इन्स्टिच्युटमा भइरहेको लेभल -२ को परीक्षा इन्स्टिच्युट र सीप परिक्षण समितिको मिलोमतोमा निष्पक्षरहित किसिमले सञ्चालन हुन नसकेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष भलि सुब्बाले फाल्गुन ३ गते देखी सुरू भएको सीप परिक्षण परीक्षामा इन्स्टिच्युट र समितिबाट परिक्षा सञ्चालन गर्न आउनुभएका मूल्याङकनकर्ताहरूको मिलेमतोमा आफ्नो मान्छेलाई पास गराउने किसिमको भएको आरोप लगाउनु भएको थियो ।

सुब्बाले फाल्गुन ४ गतेको सबै परीक्षार्थीलाई एकै स्थानमा राखेर परीक्षा लिनुपर्नेमा परीक्षामा सामेल ८ जना मध्य केही परीक्षार्थीलाई उत्तिर्ण गराउने उदेश्य साथ गोप्य कोठामा परीक्षा लिएको प्रमाण समेत रहेको बताउनु भएको थियो ।

सुब्बाले इन्स्टिच्युटले आफ्नो संस्थाबाट तालिम लिएका प्रशिक्षार्थीलाई सजिलै पास गराएर युनियन लगायतको संस्थाबाट तालिम लिएका सौन्दर्यकर्मीलाई अयोग्य देखाउन प्राइम र मूल्याङ्कनकर्ताहरूले धाँधली गर्ने गरेको आरोप लगाउनु भएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै फाल्गुन ४ गतेको परीक्षार्थी गिता दुङ्गेलले सो दिन ८ जनाको परीक्षा हुनुपर्नेमा ३ जनाको एकै स्थानमा परिक्षा लिइएको र ४ जनालाई हाजिर गरेकै भरमा पास गराउन अन्यत्र परीक्षा लिने भनेर परीक्षास्थान बाहेकको स्थानमा पठाएको आरोप लगाउनु भएको थियो ।

ढुङ्गेलले लामो समयको मेहनत र लगानी पश्चयात आफूहरू परीक्षामा उपस्थित भईरहँदा परीक्षाकै बिचमा मूल्याङकर्ताहरूले ‘तपाईहरू फेल हुनुभयो , अर्को पल्ट आउनु’ भन्दै मानसिक दबाब दिइएको समेत बताउनु भयो ।

लेभल २ को परीक्षामा उपस्थित हुन लेभल १ पास गरेको प्रमाणपत्र र ३ बर्ष पार्लर सञ्चालन गरेको अनुभव-पत्र चाहिने र लेभल २ को परीक्षा दिन ८ घण्टा लामो प्रयोगात्मक परीक्षा र सो परीक्षामा लाग्ने सामाग्री परीक्षायार्थी स्वयमले बेहोर्नु पर्ने हुन्छ ।

पत्रकार सम्मेलनम युनियनले फाल्गुन ३ देखी ९ गते सम्म चल्ने परीक्षाको छानबिन गर्नु पर्ने , मूल्याङकनकर्ता माथि छानबिन हुनुपर्ने , प्राइम इन्स्टिच्युटमा रहेको परीक्षा केन्द्र खारेज गर्नु पर्ने र मर्यादित र निष्पक्ष परीक्षा हुने माहोल बनाउन सिटिइभिटिसँग माग समेत गरेको छ ।

Back to top button