कोशी प्रदेशको मतपरिणामले गठबन्धन संकटमा पर्‍यो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नरहेको बताउनुभएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै आफ्ना मन्त्रीको कार्यसम्पादनबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो।

‘पूरै पाँच वर्ष यो गठबन्धन कायम रहनुपर्छ भन्ने हाम्रो निर्णय एकातर्फ छ। तर, अर्कोतर्फ नागरिकको अपेक्षाअनुरुप सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ। कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय नै छ। तर, केही मन्त्रीको भूमिका मन्त्रीका रुपमा प्रभावकारी विल्कुलै छैन,’ उहाँले भन्नुभयो।

महामन्त्री शर्माले प्रदेशका मुख्यमन्त्री, मन्त्री र कांग्रेस नेतृत्वमा रहेका स्थानीय तहको पनि छुट्टै कार्यसम्पादन हुनुपर्ने बताउनुभयो।

उहाँले वर्तमान सरकारमार्फत संविधान रक्षाको साझा कार्यभार सम्पादन भएपनि नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ । संघीयता कार्यान्वयनका विषयमा सरकारबाट कमजोरी भइरहेको प्रष्ट पार्नुभयो ।

उहाँले यथाशिघ्र प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग गर्नुभयो । उहाँले सरकारको सफलता र असफलतामा कांग्रेसको पनि छबि गाँसिएको बताउनुभयो । ‘वर्तमान सरकारको सफलता असफलतासँग कांग्रेसको पनि छबि गाँसिएको छ। सरकारले गर्ने राम्रा कामको जस लिन नसक्ने तर अपजसहरूको भारी बोक्नुपर्ने? भन्ने प्रश्न र असन्तुष्टि कांग्रेस पार्टी पंक्तिमा देखिन्छ,’ उहाँले भन्नुभयो ।

यस्तै, राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा भएको गल्तीलाई गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले कोशी नतिजासँगै माओवादीसँगको समझदारीमा समस्या आएको स्पष्ट पार्नुभएको छ ।

‘संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि आह्वान भएपछि कोशीमा जेजस्तो घटनाक्रम विकसित भयो, त्यसले कांग्रेसभित्रै द्वन्द्व सिर्जना भएको थियो। माओवादी पार्टीसँग त्यसबेला कायम रहन नसकेको समझदारी राष्ट्रिय सभाको निर्वाचन परिणामपछि झनै समस्याको चपेटामा परेको छ। गठबन्धनको सरकार पाँच बर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन, खुला छलफल र आपसी विश्वासले मात्र त्यो सम्भव हुने तथ्य भुल्न मिल्दैन,’ उहाँले भन्नुभयो ।

महामन्त्री शर्माले गठबन्धनमा रहिसकेपछि स्वतन्त्र गतिविधि गर्न नमिल्ने प्रष्ट पार्नुभयो । ‘हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौं, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौं। केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्नेछ,’ उहाँले भन्नुभयो।

उहाँले अन्य दलसँगको चुनावी या सत्ता गठबन्धन दल र दलका बीच संस्थागत निर्णयको आधारमा हुने बताउनुभयो । गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्काउमा हुन नहुने उहाँको भनाइ छ ।

Back to top button