कांग्रेस महासमिति बैठकः प्रतिवेदनमा आजदेखि छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज प्रतिवेदनहरुमा छलफल हुँदै छ । सोमवारबाट ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठक बिहान ९ बजे बस्दै छ । अघिल्लो बैठकमा पेस भएका प्रतिवेदनमाथि आज छलफल हुने छ ।

आज उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री गगनकुमार थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्नुभएको थियो । ती प्रतिवेदनहरुमा आजदेखि छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

बैठकमा पेस भएका प्रतिवेदन माथि ४ वटा समूह छलफल हुने प्रबन्ध गरिएको छ । महासमिति प्रतिनिधिहरुलाई प्रदेशगत रुपमा समूहमा विभाजन गरिएको छ।

सम्मलेन हल गोदावरीको सनराइज सम्मेलन केन्द्रमा ४ समूहका लागि छुट्ट–छुट्टै छलफल कक्ष बनाएको छ। गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेशका महासमिति सदस्यले प्रतिवदेन माथि बहस गर्नेछन् । विशंखु नारायण हलमा मधेश र कर्णाली, फुलचोकी हलमा बागमती र गण्डकीका प्रतिनिधिले छलफल गर्नेछन।

केन्ज्योसोम हल लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरुको लागि छुट्याइएको छ। केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरु सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन् ।

Back to top button