राप्रपा नुवाकोटले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

नुवाकोट । राप्रपा नुवाकोटले देशमा हिन्दू राष्ट्र कायम गरिनुपर्नेलगायत विविध माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।

शान्तिपूर्ण रूपले देशको अवस्था र व्यवस्था परिवर्तन गरिनुपर्नेलगायत माग गर्दै राप्रपा नुवाकोटले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे ज्ञापनपत्र पठाएको हो ।

राप्रपाले गरेका मागमा हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापनाका साथै प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तहसहित २ तहको सरकार, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विषय रहेका छन् ।

राप्रपाको टोलीले सदरमुकाम विदुरमा र्‍यालीसहित बजार परिक्रम गरेको छ । ज्ञापन पत्र बुझाउनुका साथै र्‍यालीपछि राप्रपाले विदुरस्थित लोकतान्त्रिक चौतारोको कोणसभा गरेको छ। कोण सभामा वर्तमान अवस्थाले देशलाई थिलथिलो पारेको जनाउँदै देशको परिवर्तन आवश्यक रहेको बताए।

Back to top button